सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड बढीको क्षति

Halesi Khabar

खोटाङ, ६ फागुन । साकेला गाउँपालिकाको सामुदायिक भवनमा भएको आगलागीमा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गाउँपालिकाको स्टोर (भण्डारण गृह) र क्वाटर (आवास गृह)को रुपमा प्रयोग हुँदै आएको सामुदायिक भवनमा बुधबार आगलागी भएको हो ।

गाउँपालिकाको केन्द्र मात्तिमस्थित मानेभञ्ज्याङमा रहेको सामुदायिक भवनमा बुधबार बिहान करिब साढे छ बजेतिर आगलागी सुरु भएको थियो । सामुदायिक भवनमा आगलागी भएको जानकारी पाएलगत्तै घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय मात्तिम र स्थानीयवासीले करिब डेढ घण्टा लगाएर नियन्त्रणमा लिएको गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङले जानकारी दिनुभएको छ ।

आगलागीमा परेको भवनको साढे दुईतले पक्की सामुदायिक भवनको पहिलो तलामा गाउँपालिकाको स्टोर तथा माथिल्लो तलामा उपप्रमुख बिर्सिका राई र कर्मचारीको आवास रहेको थियो । बिहानको समयमा अचानक लागेको आगोको रुप ठूलो भएपछि जानकारी पाइएकाले पहिलो तलामा भण्डारण गरिएका कुनै पनि सामग्री निकाल्न नपाइएको गाउँपालिकाले जनाएको छ ।

आगलागीका घटनामा धनमाल जलेर ठूलो क्षति भएपनि मानवीय क्षति हुनबाट प्रहरी र स्थानीयले जोगाएको उपप्रमुख राईले जानकारी दिनुभएको छ । आगलागीका कारण माथिल्लो तलामा रहेको उपप्रमुख राई र कर्मचारीको क्वाटर तथा सभाहलमा समेत क्षति पुगेको जनाइएको छ ।

सामुदायिक भवनमा भएको आगलागीका घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । भवनमा जडान गरिएको विद्युत फल्ट (खराबी आउनु) भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको घटनास्थल पुगेका प्रहरीले जनाएको छ ।

उपप्रमुख राई, लेखा प्रमुख उत्तम आचार्य र सूचना अधिकारी चाम्लिङले आवास प्रयोग गर्दै आउनुभएको सामुदायिक भवनमा गएराति कोही पनि नबसेको जनाइएको छ । आवासमा कोही पनि नभएको समयमा आगलागी भएकाले घटनालाई शङ्कास्पद मानिएको उपप्रमुख राईले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया