डा. हरि रोकाको चुनावी अभियान : मतदाताको अपेक्षा बुझ्न प्रत्यक्ष जनसम्वाद कार्यक्रम

Halesi Khabar

खोटाङ, ५ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाले मतदाताको अपेक्षा बुझ्न तथा उनीहरुले उठाएका सवालको जवाफ दिन ‘उम्मेदवारसँग प्रत्यक्ष जनसम्वाद’ कार्यक्रम सुरु गर्नुभएको छ । अर्थ तथा बाम राजनीतिक विश्लेषकसमेत रहनुभएका उम्मेदवार डा. रोकाले जिल्लाका दशवटै स्थानीय तहका मतदाताको अपेक्षा बझ्न र आफू निर्वाचित भएपछि प्रतिनिधिसभामा गएर उनीहरुको अपेक्षाअनुसारका नीति निर्माण गर्न जनसम्वाद कार्यक्रम सुरु गर्नुभएको हो ।

जनसम्वाद कार्यक्रममा मतदातासँग प्रत्यक्ष प्रश्नोत्तर तथा फोन र एसएमएसमार्फतसमेत उम्मेदवारलाई प्रश्न गर्ने व्यवस्था मिलाइएको चुनाव प्रचार–प्रसार समितिका संयोजक एवम् पूर्वमन्त्री राजन राईले जानकारी दिनुभएको छ । “उम्मेदवारसँगको जनसम्वाद कार्यक्रमलाई रेडियो तथा अनलाइनमार्फत लाइभ प्रशारण गर्छौँ । यसले उम्मेदवारलाई मतदाताप्रति उत्तरदायी बनाउनुका साथै मतदाताको अपेक्षा सम्बोधन गर्न सहज भएको छ”, उहाँले भन्नुभयो, “बराहपोखरी गाउँपालिकाबाट सुरु गरिएको जनसम्वाद कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा पु¥याउँछौँ । पहिलो दिन धर्तुङमा आयोजना गरिएको कार्यक्रममा १३ जनाले प्रत्यक्ष उपस्थित भएर, तीन जनाले फोनमा, एक जनाले फेसबुक म्यासेन्जरमा र दुई जनाले एसएमएसमार्फत प्रश्न गरेका थिए । उनीहरु सबैजनाको प्रश्नको उत्तर उम्मेदवार डा. रोकाले सहजरुपमा दिनुभएको छ । यसले मतदातामा उत्साह थप्नुका साथै उम्मेदवारलाई जनताप्रति जिम्मेवार बनाएको छ ।”

मतदाताले जिल्लाको समग्र विकास निर्माण योजना, बाँदर आतङ्क तथा बसाइँसराइ नियन्त्रण, युवाका लागि स्थानीयस्तरमा रोजगारी सिर्जना लगायतका विषयमा उम्मेदवार डा. रोकाको भावी योजना कस्तो रहेको छ भनेर बुझ्ने प्रयास गरेका थिए । मतदाताले उम्मेदवारलाई गरेको प्रश्न र उम्मेदवारले मतदातालाई दिएको उत्तर रेडियो एभरेष्ट र विभिन्न अनलाइनमार्फत हजारौँ श्रोता तथा दर्शकले प्रत्यक्ष सुन्न र हेर्न पाउने व्यवस्था मिलाइएको नेकपा खोटाङले जनाएको छ ।

जनसम्वाद कार्यक्रममा सहभागी मतदाताले राखेका सवालको जवाफ दिनुहुँदै उम्मेदवार डा. रोकाले आफू निर्वाचन जितेर प्रतिनिधिसभामा गएको खण्डमा ग्रामीण विकास मन्त्रालय स्थापना गरेर हरेक जनताको अपेक्षा पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । “शहरको विकास गर्न शहरी विकास मन्त्रालय भएजस्तै गाउँको विकास गर्न ग्रामीण विकास मन्त्रालय स्थापना गर्न आवश्यक छ । ग्रामीण विकास मन्त्रालयले तल्लो तहका जनताको विकासका योजना बनाउँछ”, उहाँले भन्नुभयो, “समग्र देश विकास गर्न तल्लो तहका जनता अपेक्षाअनुसार विकास निर्माणको काम सुरुवात हुनुपर्छ । म निर्वाचित भएको खण्डमा यो मेरो प्रमुख एजेण्डा यही हुनेछ ।”

जनतामा नेताको भाषण सुन्ने चाहना नभएकाले उम्मेदवारसँग प्रत्यक्ष जनसम्वाद कार्यक्रम राखिएको निर्वाचन परिचालन समितिका संयोजक एवम् नेकपाका केन्द्रीय अनुशासन कायोगका अध्यक्ष टङ्क राईले जानकारी दिनुभएको छ । “यो निर्वाचन प्रचार कार्यक्रममा कुनै पनि नेताहरुको भाषण हुँदैन । सञ्चालकले कार्यक्रमको बारेमा प्रकाश पार्ने काम गर्छ । अनि सिधै मतदातासँग उम्मेदवारले प्रत्यक्ष सवाज–जवाफ गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “उम्मेदवारले दिएको जवाफमा मतदाता सहमत भए मत दिन्छन् । नभए दिदैनन् । खोक्रो भाषणको कुनै अर्थ छैन । त्यही भएर जनसम्वाद कार्यक्रम राखिएको हो ।”

प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपाका उम्मेदवार डा. रोकासहित १५ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्लाका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आफ्नो चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।

नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ उम्मेदवार रहनुभएको छ । यस्तै, डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

निर्वाचन नजिकिएसँगै जिल्लाका राजनीतिक दलहरु कार्यकर्ता तानातानमा होटबाजी गर्न थालेका छन् । यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलहरु कार्यकर्ता तानातानमा होटबाजी गर्न थालेका हुन् ।

वि.सं. २०७९ सालको निर्वाचनमा खसेको समानुपातिक मतलाई आधार मानेर हेर्दा खोटाङमा एमालेको अवस्था बलियो देखिएको छ तर, यस पटकको अवस्था पहिलेजस्तो नरहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । श्रम संस्कृति पार्टी लगायत अन्य नयाँ राजनीतिक दलले पछिल्लो समय जिल्लामा सङ्गठन विस्तार गर्नुका साथै मतदाताले नयाँ विकल्पको खोजी गर्दा ठूला राजनीतिक दलको भोट काटिने देखिएको छ ।

एमालेको २४ हजार २७१, काँग्रेसको १८ हजार ६७२, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ११ हजार ८४५, एकीकृत समाजवादीको तीन हजार ३६३, जसपा नेपालको दुई हजार २४८, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक हजार २५५ मत आएको थियो । तत्कालीन अवस्थामा जिल्लामा सङ्गठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एक हजार ४९७ मत खसेको थियो ।

एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा सबै राजनीतिक दलका उम्मेदवारले यो निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएका छन् । यद्यपि, यस वर्षको निर्वाचनमा पूरानै तीन राजनीतिक दल (काँग्रेस, एमाले र (नेकपा)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया