खोटाङ, ५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै खोटाङमा राजनीतिक दलहरु कार्यकर्ता तानातानमा होटबाजी गर्न थालेका छन् । यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न जिल्लास्थित राजनीतिक दलहरु कार्यकर्ता तानातानमा होटबाजी गर्न थालेका हुन् ।
नेपाली कम्युष्टि पार्टी (नेकपा) खोटाङलय गत माघ–२० गते केपिलासगढी गाउँपालिकाका निवर्तमान गाउँपालिका प्रमुख कृष्णकुमार राईलाई प्रवेश गराएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका जिल्ला सचिवालय समितिका पूर्वसदस्यसमेत रहनुभएका कृष्णकुमार एमाले केपिलासगढी गाउँपालिका कार्यसमिति उपसचिव रमेश परियारसहित विभिन्न पदमा रहेका कार्यकर्ता लिएर नेकपा प्रवेश गर्नुभएको हो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जनताको भवना बुझ्ने र जेनजी आन्दोलनपछि सबैभन्दा पहिले पुनः गठन भएको पार्टी भएकाले आफू पनि नेकपा प्रवेश गरेको नेता राईले बताउनुभएको छ । “एमालेले जनताको भावना बुझ्न सकेन । त्यहाँ रहेर अहिले जनताको घरमा जान सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछि देशभर नेकपाको पक्षमा जनमत जुट्दै गएको छ । म आफू पनि राजनीतिक व्यक्ति हुँ । जनताको सेवा गर्न एमाले परित्याग गरेर नेकपा प्रवेश गरेको हुँ ।”
यही फागुन–२ गते एमालेकै कोशी प्रदेश समिति सदस्य कूलदीप राई र दीपक राई, नेपाली काँग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडासभापति सन्तोष राई, एमाले विजयखर्क वडासमितिका उपाध्यक्ष रविनकुमार राई, पूर्वअध्यक्ष प्रेम राई, तत्कालीन नेकपा (माओवादी केन्द्र) खोटाङका जिल्ला सदस्य लालकिरण राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । विजयखर्कमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरेर १११ जना नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेको जिल्ला अध्यक्ष प्रताप राईले जानकारी दिनुभएको छ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जिल्ला सचिव माइतीराज राई फागुन–४ गते एमाले प्रवेश गर्नुभएको छ । एकीकृत समाजवादी र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएपछि निस्क्रिय बस्नुभएका माइतीराजलाई एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इनचार्ज विशाल भट्टराई, सदस्य विणादेवी राई, प्रदेश उपसचिव देवान राई लगायतले एमालेमा प्रवेश गराउनुभएको हो ।
माइतीराज वि.सं. २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा केपिलासगढी गाउँपालिका प्रमुखको उम्मेदवार बन्नुभएको थियो । माइतीराजसँगै केपिलासगढी गाउँपालिकाका ११५ जना नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गरेको प्रचार विभाग प्रमुख खेमराज देउसाली राईले जानकारी दिनुभएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा सबै राजनीतिक दलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित कार्यक्रमलाई व्यापक बनाएका छन् । प्रतिनिधिसभा सदस्यतर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेका छन् ।
नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा. हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. रोका नेकपाबाट उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिनुभएपछि खोटाङको चुनावी माहोल रोचक बनेको छ । तीन दशकसम्म राजधानी काठमाडौँमा बसेर अध्ययन, अनुसन्धान तथा खेलनमा व्यस्त डा. रोका पुनः खोटाङमा आएर उम्मेदवार बन्नुभएपछि चुनावी माहोल तातिएको हो ।
डा. रोका देशभरका वौद्धिक वर्गले शुभकामना दिँदै आगामी निर्वाचनमा मतदानगरी जिताएर पठाउन खोटाङ्गे मतदातालाई आव्हान गरिरहेका छन् । अर्थशास्त्री डा. पिताम्बर शर्मा, कानूनविद् युवराज सङ्ग्रौला, किरात प्रज्ञा प्रतिष्ठानका कूलपति जयकुमार राई, लेखक÷साहित्यकारहरु खगेन्द्र सङ्ग्रौला, युग पाठक र झलक सुवेदी, शल्य चिकित्सक डा. कृष्णकुमार राई ‘केके’, लेखक÷साहित्यकारहरु डा. विष्णु राई र डा. नारायण ढकाल, अधिवक्ता प्रतीक कार्की लगायतका वौद्धिक वर्गले डा. रोकाप्रति सुभेच्छा प्रकट गर्दै जिताएर पठाउन आव्हान गरिरहेका हुन् ।
वि.सं. २०७९ सालको निर्वाचनमा खसेको समानुपातिक मतलाई हेर्दा खोटाङमा एमालेको अवस्था बलियो देखिएको छ तर, यस पटकको अवस्था पहिलेजस्तो नरहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । श्रम संस्कृति पार्टी लगायत अन्य नयाँ राजनीतिक दलले जिल्लामा पछिल्लो समय सङ्गठन विस्तार गर्नुका साथै मतदाताले नयाँ विकल्पको खोजी गर्दा ठूला राजनीतिक दलको भोट काटिने देखिएको छ ।
एमालेको २४ हजार २७१, काँग्रेसको १८ हजार ६७२, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ११ हजार ८४५, एकीकृत समाजवादीको तीन हजार ३६३, जसपा नेपालको दुई हजार २४८, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक हजार २५५ मत आएको थियो । तत्कालीन अवस्थामा जिल्लामा सङ्गठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एक हजार ४९७ मत खसेको थियो ।
एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा सबै राजनीतिक दलका उम्मेदवारले यो निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएका छन् । यद्यपि, यस वर्षको निर्वाचनमा पूरानै तीन राजनीतिक दल (काँग्रेस, एमाले र (नेकपा)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ ।


