त्रिधार्मिकस्थल हलेसीमा महाशिवरात्री मेला : भक्तजन तथा दर्शनार्थीको बाक्लो भीड

Halesi Khabar

खोटाङ, ३ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा लागेको महाशिवरात्री मेलामा भक्तजन तथा दर्शनार्थीको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा महाशिवरात्रीको अवसर पारेर तीन दिनसम्म लाग्ने बृहत मेलामा बिहानैदेखि दर्शनार्थी तथा भक्तजनको भीड लागेको हो ।

हलेसीमा लागेको महाशिवरात्री मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायत विभिन्न राष्ट्रबाट करिब तीन हजारको हाराहारीमा भक्तजन तथा दर्शनार्थीहरु हलेसी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेकाले पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ ।

हलेसीमा लागेको महाशिवरात्री मेला भर्न आउने दर्शनार्थी तथा भक्तजनलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिनुभएको छ । “महाशिवरात्रीको अवसर पारेर आज रातभर गुफाभित्र जाग्राम बस्ने चलन छ । राति १२ः०० बजे विधिवतरुपमा शिव जन्माएर पूजा गरिन्छ”, उहाँले भन्नुभयो, “शिव जन्माउने दिन भएकाले सन्तमहन्तहरुको भीडभाड हुन्छ । भक्तजन तथा दर्शनार्थीलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक र प्रहरी परिचालन गरेका छौँ ।”

राजधानी काठमाडौँ लगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएका कारण पनि हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजन आफैले सवारीसाधन लिएर हलेसी आउने गरेका छन् । हलेसीमा लाग्ने मेला अवधिभर अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ ।

धार्मिकरुपमा मात्र नभइ प्राकृतिकरुपले समेत विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार, स्वर्गद्धार जस्ता विभिन्न द्धारहरू अवस्थित रहेका छन् ।

प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार जस्तो देखिन्छ ।

त्रिधार्मिकस्थल हलेसीमा शिवरात्री, रामनवमी, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । हलेसीमा महाशिवरात्रीको अवसरमा लाग्ने मेलामा करोडौँको कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।

पछिल्लो समय त्रिधार्मिकस्थल हलेसीमा दर्शनार्थी तथा भक्तजनको बाल्लो भीड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसी क्यामेरा जडान गरिएको हो ।

दैनिक सयौँको सङ्ख्यामा भक्तजन तथा पर्यटकको घुइँचो लाग्ने हलेसी मन्दिर परिसरमा पर्यटक गणकयन्त्र र सौर्यबत्तीसमेत जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रम अन्तरगत तत्कालीन १ नं. प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको रु दश लाख लागतमा हलेसी मन्दिर परिसरका विभिन्न २६ ठाउँमा सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हो ।

तपाईको प्रतिक्रिया