खोटाङ, २ फागुन । महाशिवरात्री तथा २६३ औँ नेपाली सेना दिवसको अवसर खोटाङमा आयोजना गरिएको ‘रन फर फन’ दौड प्रतियोगिताको उपाधि खिमबहादुर ओली र दीर्पा बस्नेले जित्नुभएको छ । नेपाली सेनाको दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकले आयोजना गरेको दौड प्रतियोगिताको पुरुषतर्फ रणभीम गणका ओली र महिलातर्फ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी बस्नेत उपाधि जित्नुभएको हो ।
महिला÷पुरुष दुवैमा पाँच किलोमिटर दूरीको दौड प्रतियोगिताको पुरुषतर्फ मुडे ब्यारेकका लेखराज पुन मगर द्धितीये, सागर नेपाली तृतीय र केपिलासगढी गाउँपालिका–३ बास्पानीका सूर्यराज राई सान्त्वना हुनुुभएको छ । महिलातर्फको प्रतियोगितामा रणभीम गण मुडे ब्यारेककी पुष्पा अवस्ती द्धितीय, अस्मिता महतो तृतीय र दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूलकी छात्रा मन्दिरा थापा सान्त्वना हुनुभएको छ ।
पुरुष तथा महिलातर्फ दुवै प्रतियोगिताका प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने धावकहरूलाई क्रमशः नगद रु पाँच हजार, रु तीन हजार, रु दुई हजार र रु एक हजारको मेडल प्रदान गरिएको छ । प्रतियोगिताका विजेता धावकहरूलाई प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछाने, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकी र सशस्त्र प्रहरी बल का सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेले पुरस्कार वितरण गर्नुभएको छ ।
यसैबीच, सबैभन्दा कम उमेरमा सहभागी भएर निर्धारित दूरीको दौड पूरा गर्नुभएकी हिल साईड एकेडेमी दिक्तेलमा अध्ययनरत छात्रा १२ वर्षीया रोशिका दाहाललाई सम्मान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ १५१ जना र महिलातर्फ ५४ जनाको सहभागिता रहेको थियो ।
दिक्तेल बजारको रत्नपार्कस्थित किरातचोकबाट सुरु गरिएको दौड प्रतियोगिता अल्छेढुङ्गा हुँदै भालुखोला पुगेर पुनः फर्किएपछि रत्नपार्कबाट मानव अधिकारचोक हुँदै माटिकोरे खेलमैदानमा पुगेर टुङ्ग्याइएको थियो । रणभीम गण मुडे ब्यारेकले गत वर्षको महाशिवरात्री तथा सेना दिवसमा पनि सर्वसाधारणलाई सहभागी गराएर ‘रन फर फन’ दौड प्रतियोगिता आयोजना गरेको थियो ।


