खोटाङ, २ फागुन । ‘बोलाओ राइडिङ एप्स’मार्फत खोटाङमा भाडा तिरेर जुनसुकै समयमा जुनसुकै ठाउँको यात्रा गर्न सकिने भएको छ । यात्रुलाई जुनसुकै समयमा जुनसुकै ठाउँको सहज, शुलभ् र सुरक्षित यात्रा गराउँदै व्यवसाय गर्ने उद्देश्यले ‘बोलाओ राइडिङ एप्स’ले खोटाङमा आफ्नो सेवा विस्तार गरेको हो ।
यात्रुको सेवाका लागि पहिलो चरणमा १६ वटा मोटरबाइक र तीनवटा अटो तैनाथ राखिएको बोलाओ राइडिङ एप्सका खोटाङ राइडर संयोजक आश्रय राईले जानकारी दिनुभएको छ । ‘पठाओ’ जस्तै अनलाइन राइडिङ प्रणालीमा आधारित बोलाओ राइडिङ एप्सले जिल्लामा पहिलोपटक भाडा लिएर यातायात सेवा सुरु गरेको हो ।
बोलाओ राइडिङ एप्सले किलोमिटरका आधारमा भाडादर स्वतः निर्धारण गर्ने र यात्रुले नगद तथा क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको खोटाङ सुपरभाइजर दिनेश हिङ्माङले जानकारीले जानकारी दिनुभएको छ । “एप्समार्फत जिलाभरिका सेवाग्राहीले मोटरबाइक, अटो तथा सुमोबाट सेवा लिन सक्नेछन् । सेवा लिन चाहने सेवाग्राहीलाई जुनसुकै समयमा सेवा उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “सेवाग्राही जो कोहीले आफ्नो मोबाइलमा बोलाओ एप्स डाउनलोड गरी घरमै बसेर राइडर बोलाउन सक्नुहुन्छ । राइडर नपाएर हैरानी खेप्दै आउनुभएका यात्रुले अब बोलाओ सेवामार्फत सहज रूपमा आफ्नो गन्तव्यसम्म पुग्न सक्नुहुनेछ ।”
एप्सले जिल्लाभित्रका अटो, मोटरबाइक तथा सुमो चालकले राइडिङ सेवा दिन चाहेमा दिक्तेलस्थित सङ्गम चोकमा स्थापना गरिएको सम्पर्क कार्यालयमा गएर आवश्यक कागजातसहित आफ्नो नाम दर्ता गराउन सक्नेछन् । प्रक्रिया पूरा गरेर कार्यालयमा दर्ता भएपश्चात् कार्यालयका कर्मचारीले चालकलाई बोलाओ राइडिङ एप्ससँग जोडिदिने व्यवस्था गरिएको जनाइएको छ ।
राइडिङ सेवामा संलग्न चालकले अनिवार्य इन्स्योरेन्स गरेको हुनुपर्ने संयोजक राईले जानकारी दिनुभएको छ । “सेवा दिन चाहने चालकले अनिवार्य इन्स्योरेन्स गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । बिना इन्स्योरेन्सका कोही चालक हुने छैनन्”, उहाँले भन्नुभयो, “यात्रुलाई सहज यात्रा गराउँदै बोलाओ सेवालाई पनि प्रभावकारी बनाउने योजनामा छौँ । यात्राका क्रममा कसैको दुर्घटना भएमा सवारीसाधन, चालक तथा सेवाग्राहीको क्षतिपूर्ति बीमा कम्पनीले व्यहोर्नेछ ।”
बोलाओ राइडिङ एप्सले खोटाङमा आगामी वैशाखसम्म चालकबाट कुनै कमिसन नलिने घोषणा गरेको छ । वैशाखपछि भने कम्पनीले निर्धारण गरेअनुसार कमिसन लिएर सेवालाई थप प्रभावकारी बनाउने जनाएको छ ।
सेवाग्राहीका लागि ‘बोलाओ एप्स’ र चालकका लागि ‘बोलाओ क्याप्टेन’ एप्स सञ्चालनमा ल्याइएको सुपरभाइजर हिङ्माङले जानकारी दिनुभएको छ । बोलाओ राइडिङ एप्सको मुख्य कार्यलय धरानमा रहेको जनाइएको छ ।


