खोटाङ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)खोटाङका उम्मेदवार देवबिक्रम राईलाई विजयी गराउन जिल्ला उपाध्यक्ष कुमार आचार्यको संयोजकत्वमा ७७७ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । एमाले खोटाङको अध्यक्षसमेत रहनुभएका राईले यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराउनुभएपछि एमालेले जिल्ला उपाध्यक्ष आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा खोटाङबाट निर्वाचित पूर्वमन्त्रीहरु, पूर्वसांसद तथा संविधानसभा सदस्यहरु, पार्टी केन्द्रीय समितिका सदस्यहरु, प्रदेश पदाधिकारी तथा सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय सङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, जिल्लाका दशवटै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरु रहेका छन् । यस्तै, एमाले खोटाङका प्रचार विभाग प्रमुख खेमराज देउसाली राईको संयोजकत्वमा २३ सदस्यीय चुनाव प्रचार–प्रसार समितिसमेत गठन गरिएको एमालेले जनाएको छ ।
आगामी निर्वाचनलाई प्रभावकारी बनाउन जिल्लाका दशवटै स्थानीय तहमा फोकल पर्सन तथा रोष्टर÷कमाण्डिङ टिम (समूह) पनि निर्माण गरिएको एमालेले जनाएको छ । स्थानीय तहमा फरक–फरक समिति गठन गरेर चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरिएको एमाले खोटाङका सचिव सुरेन्द्रकुमार राईले जानकारी दिनुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विणादेवी राई, रावाबेँसीमा हरिकुमार पोखरेल र साकेला गाउँपालिकामा बबि चाम्लिङको नेतृत्वमा चार÷चार सदस्यीय, हलेसी तुवाचुङ नगरपालिकामा रमेशकुमार पौडेल, केपिलासगढीमा सुनिल राई, दिप्रुङ चुइचुम्मामा रामप्रसाद दंगाल र बराहपोखरी गाउँपालिकामा पाचँकर्ण राई ‘पिके’को नेतृत्वमा तीन÷तीन सदस्यीय समिति गठन गरिएको छ । यस्तै, ऐसेलुखर्क गाउँपालिकामा खगेन्द्र राई र जन्तेढुङ्गाा गाउँपालिकामा तेज ढुङ्गानाको नेतृत्वमा दुई÷दुई सदस्यीय तथा खोटेहाङ गाउँपालिकामा राजन ढकालको नेतृत्वमा समिति गठन गरिएको बताइएको छ ।
एमाले खोटाङले सबै स्थानीय तहमा जिम्मेवारी तोक्दै निर्वाचन अभियानलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा देवबिक्रमसहित १५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।


