देशभरका वौद्धिक वर्गको एउटै आवाज : डा. हरि रोका प्रतिनिधिसभाका लागि उपयुक्त पात्र

Halesi Khabar

खोटाङ, १ फागुन । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकाले खोटाङबाट आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएपछि जिल्लाको चुनावी माहोल तातिएको छ । यही फागुन–२१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डा. रोकाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट प्रत्यक्षतर्फको उम्मेदवारी दिनुभएको हो ।

डा. रोका उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिनुभएसँगै देशभरका वौद्धिक वर्गले शुभकामना दिँदै जिताएर पठाउन खोटाङ्गे मतदातालाई आव्हान गरिरहेका छन् । अर्थशास्त्री डा. पिताम्बर शर्मा, कानूनविद् युवराज सङ्ग्रौला, किरात प्रज्ञा प्रतिष्ठानका कूलपति जयकुमार राई, लेखक÷साहित्यकारहरु खगेन्द्र सङ्ग्रौला, युग पाठक र झलक सुवेदी, शल्य चिकित्सक डा. कृष्णकुमार राई ‘केके’, लेखक÷साहित्यकारहरु डा. विष्णु राई र डा. नारायण ढकाल, अधिवक्ता प्रतीक कार्की लगायतका वौद्धिक वर्गले डा. रोकाप्रति सुभेच्छा प्रकट गर्दै जिताएर पठाउन आव्हान गरिरहेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश बनाएर तथा स्टाटस लेखेर अपलोड गर्दै वौद्धिक वर्गहरुले विश्वले चिनेका डा. रोकालाई आगामी निर्वाचनमा खोटाङ्गे मतदाताले नचिन्नु दूर्भाग्य हुने बताएका छन् । डा. रोका राजनीति, वैकल्पिक अर्थतन्त्र र सामाजिक परिवेश बुझेका व्यक्ति भएकाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएर पठाउनका लागि खोटाङका उपयुक्त उम्मेदवार भएको उनीहरुको दाबी छ ।

पछिल्लो केही दशक कुनै पनि राजनीतिक दलको साधारण सदस्यसमेत नरही लेखन तथा अनुसन्धानमा सक्रिय रहनुभएका डा. रोका आगामी निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा होमिनुभएसँगै जिल्लाका छ जना पूर्व सांसद तथा मन्त्रीहरुले साथ दिनुभएको छ । दिक्तेल बजारस्थित किरातचोकबाट औपचारिकरुपमा घरदैलो अभियान सुरु गर्नुभएका डा. रोकालाई जनताको बीचमा लगेर विजयी गराउन पूर्व सांसदहरु टंक राई र कुलप्रसाद फुयाल, संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वउर्जा, जलश्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ र कोशी प्रदेश सरकारकै पूर्वसामाजिक विकासमन्त्री राजन राईले साथ दिनुभएको हो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खुतुम्बु निवासी डा. रोकालाई नेकपाले निर्वाचनपछि बन्ने सङ्घीय सरकारको अर्थमन्त्री बनाउने सर्तसहित प्रतिनिधिसभा सदस्यको टिकट दिएको समाचार स्रोतले जनाएको छ । खुतुम्बुका स्थानीयवासी मेघबहादुर रोका र विष्णुमायाँ रोकाको कान्छो सन्तानका रुपमा वि.सं. २०१६ असोज–१५ गते जन्मनुभएका डा. रोका संविधानसभा सदस्यसमेत हुनुहुन्छ ।

वि.सं. २०३४ सालदेखि बामपन्थी राजनीति तथा लेखनमा सक्रिय डा. रोकाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएपछि पार्टी नेता तथा कार्यकर्ताहरु सत्साहित बनेका छन् । वि.सं. २०३१ सालमा एसलसी उत्तिर्ण गर्नुभएका डा. रोकाले वि.सं. २०७३ सालमा अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) उत्तिर्ण गर्नुभएको हो ।

राजनीतिक काममा सक्रिय हुँदा पञ्चायतकालमा सात वर्ष नौँ महिना जेल जीवन बिताउनुभएका डा. रोका आठ महिना हिरासतसमेत बस्नुभएको थियो । चार वर्षदेखि गाउँमै कृषि गरिरहनुभएका डा. रोकाले कृषकको पक्षमा सदनमा कुरा उठाएर नीतिगत सुधार गर्न आफूले उम्मेदवारी दिएको बताउँदै आउनुभएको छ ।

उम्मेदवार डा. रोकाले हामीले कस्तो खालको कृषि गरियो भने उन्नति हुन्छ र कस्तो नीति चाहिन्छ भनेर आफूले अनुभव गरिरहेको बताउनुहुँदै निर्वाचन जितेपछि कृषककै पक्षमा जहिले पनि बोल्ने र लागिरहने प्रतिवद्धता बताउनुभएको छ । डा. रोकाले सामान्य किसानसँग मिल्न र उनीहरुको भावना बुझ्न भनेरै आफूले पिएचडी गरेपनि नामको अगाडि डा. नलेखेको जानकारी दिनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनका लागि नेकपाका डा. रोकासँगै दुई स्वतन्त्रसहित १५ जना नेता उम्मेदवारी दर्ता गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली काँग्रेसबाट वीरकाजी राई र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ तथा डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपा, काँग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताएका छन् । यद्यपि, उम्मेदवारी दर्ता गरेर चुनावी प्रतिस्पर्धामा होकिएका सबै राजनीतिक तथा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन् ।

आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर मतदाताको सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ ।

आगामी निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम भएका छन् । वि.सं. २०७९ सालमा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ४७ दशमलव २१ प्रतिशतमात्र मत खसेको थियो ।

तपाईको प्रतिक्रिया