खोटाङ, २९ माघ । नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–७ का उत्कृष्ट ४ अर्थात् फाइनल राउन्डमा पुग्न सफल प्रतियोगी सागर संसार राईलाई गृहजिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । कोच (प्रशिक्षक) खेम सेन्चुरीको समूह (टिम)बाट फाइनलमा पुग्नुभएका प्रतियोगी सागरलाई जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा विभिन्न कार्यक्रमसहित स्वागत गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा बुवासुङ निवासी प्रतियोगी सागर दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल ईङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कूल र माउन्ड एभरेस्ट बोर्डिङ स्कूल दिक्तेलले छुट्टाछुट्टै आयोजना गरेको ‘सागर संसार राई जिताउ अभियान’सहितको सांगीतिक कार्यक्रममा प्रस्तुति दिन गृहजिल्ला खोटाङ आउनुभएको अभियान्ता रविन खम्बूले जानकारी दिनुभएको छ । गायक रोशन राई, गायिका ईन्द्रकला राई र गायक हसन राईसहित आफ्नो गृहजिल्ला खोटाङमा भोट माग्न आउनुभएका प्रतियोगी सागरलाई दिक्तेल बजारमा ¥यालीसहित बजार परिक्रमा गराउँदै स्वागत गरिएको थियो ।
‘द भ्वइस अफ नेपाल’को सातौँ सिजनका फाइनललिस्ट सागरलाई जिताउन जिल्लास्थित विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोगसमेत गरेका छन् । गायन विद्याबाट स्थापित बनिसक्नुभएका प्रतियोगी सागरलाई भोट गर्न आगामी फागुन–२ गते शुक्रबार बेलुकासम्म भोट खुला गरिएको आयोजकले जनाएको छ ।
दिक्तेल बहुमुखी क्याम्पसका पूर्वविद्यार्थीसमेत रहनुभएका प्रतियोगी सागरले ‘नत हाँस्न नै सक्छु, नत रुन नै सक्छु’, ‘छैन भरोसा जीवनको’, ‘सिँगौरी’, रुँदा रुँदै हाँसेको मान्छे’ लगायतका चार दर्जनबढी नेपाली गीत गाउनुभएको छ । ‘द भ्वइस अफ नेपाल’को सातौँ सिजनको फाइनलमा टिम प्रमोद खरेलबाट पुनम गुरुङ, टिम मेलिना राईबाट सञ्जिता दूरा र टिम राजु लामाबाट नीताकुमारी थापा पुग्नुभएको छ ।
हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने ‘द भ्वाइस अफ नेपाल’को इतिहासमा पहिलोपटक तीन महिला र एक पुरुष फाइनलमा पुगेकाले सागरले उपाधि जित्ने सम्भावना बढी रहेको छ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–७ को फाइनल प्रतिस्पर्धा फागुन–२ गते शुक्रबार राति हुने आयोजकले जनाएको छ । तस्वीर उपलबध छ ।


