–मिनाक्क्षी राई
खोटाङ, २९ माघ । महिला उद्यमी सङ्घ खोटाङकी अध्यक्ष विमला राईले सञ्चालन गर्नुभएको ‘खोटाङ उद्यमी कोसेली घर’ जिल्लाको स्थानीय उत्पादन प्रवद्र्धन गर्ने महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाङ–३ बाम्राङ निवासी अध्यक्ष राईले वि.सं. २०८० असोज–९ गते दिक्तेल बजारमा औपचारिक रूपमा कोसेली घर स्थापना गर्नुभएको हो ।
सामाजिक सङ्घसंस्था तथा राजनीतिमा समेत सक्रिय रहँदै आउनुभएकी अध्यक्ष राई वि.सं. २०७७ सालमा महिला उद्यमी सङ्घ खोटाङको अध्यक्ष निर्वाचित हुनुभएको थियो । जिल्लामा स्थानीय उत्पादनलाई व्यवस्थित बजार आवश्यक रहेको महसुस गर्दै अध्यक्ष राईले कोसेली घर सञ्चालन गर्नुभएको हो ।
सुरुमा रु सात हजार लगानी गरेर ३०–४० बट्टा अकबरे खुर्सानीको अचार उत्पादन गरेर कोसेली घर स्थापना गर्नुभएकी अध्यक्ष राईले दुई वर्ष नपुग्दै करिब रु ३५ लाख लगानी पुगेको जानकारी दिनुभएको छ । “कोसेली घरमा जिल्लाभित्र उत्पादन भएका सामग्रीमात्र बिक्रीका लागि राख्ने गरेकी छु । केही सामग्री आफै उत्पादन गर्छौँ भने, अधिकांश सामग्री स्थानीय कृषकबाट खरिद गरेर बिक्री गर्दै आएकी छु”, उहाँले भन्नुभयो, “विशेषगरी विदेशमा रहेका खोटाङवासीले पुनः फर्किएर जाँदा कोसेलीका रूपमा खाद्य सामग्री खरिद गरेर लैजाने गरेका छन् । कोसेली घरमा राखिएका सामग्री बेलायत, हङकङ, सिङ्गापुर लगायत देशमा निर्यात हुँदै आएको छ ।”
जिल्लाका दश स्थानीय तहमध्ये विशेष गरी केपिलासगढी गाउँपालिकाबाट बढी सामग्री खरिद गरिँदै आएको अध्यक्ष राईले बताउनुभएको छ । उक्त क्षेत्रमा मह, बाँस तथा काठजन्य सामग्री र विभिन्न खाद्यान्न उत्पादन हुने भएकाले त्यहाँबाट नियमित रूपमा सामग्री सङ्कलन गर्ने गरेको उहाँको भनाइ छ ।
यसका साथै हलेसी, दिक्तेल, रावाबेँसी, साकेला लगायतका क्षेत्रबाट पनि सामग्री ल्याइँदै आएको अध्यक्ष राईले जानकारी दिनुभएको छ । स्थानीय कृषकबाट सिधै सामग्री खरिद गरी बिक्री गर्दा कृषकलाई प्रोत्साहन मिलिरहेको उहाँले बताउनुभयो ।
कहिलेकहीँ आर्थिक अभावका कारण सबै कृषकको उत्पादन खरिद गर्न नसकिने तथा हाताहाती भुक्तानी गर्न कठिनाइ हुने चुनौती रहेको अध्यक्ष राईले जानकारी दिनुभएको छ । कोसेली घरमा गुन्द्रुक, किनिमा, सिस्नोको धुलो, कोदो तथा फापरको पिठो, मकैको च्याख्ला, गहत, कालो दाल, सिमी लगायत खाद्यवस्तु बिक्रीका लागि राखिएको छ ।
दिक्तेलस्थित किरातचोकमा सञ्चालित कोसेली घरमा राँगाको सुकुटी, विभिन्न अचार, भिरमौरी तथा घर मौरीको मह, गाई–भैँसी तथा भेडाको घ्यू, कोलमा पेलेको तोरीको तेल, अकबरे खुर्सानीको अचार, घरेलु जाँड तथा रक्सी उत्पादनमा प्रयोग हुने मर्चा, जडीबुटीजन्य वस्तु तथा हस्तकलाका सामग्री पनि उपलब्ध रहेको जनाइएको छ । हस्तकलातर्फ बाँसबाट निर्मित डालो, नाङ्लो, थुन्से, फिपी, कोक्रो, कठुवा, ठेकी, काठका चिन्डोलगायत सामग्री बिक्रीका लागि राखिएका छन् ।
ढाकाको टोपी, कपासको धागोबाट बुनिएको कपडा, भेँडाको ऊनबाट बनेका लुकुनी, घुमराडी, चकटीलगायत सामग्रीसमेत बिक्रीका लागि उपलब्ध रहेको उहाँले बताउनुभएको छ । जिल्ला भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले चिनोका रूपमा हस्तकलाका सामग्री खरिद गर्ने गरेका छन् ।
कोसेली घर सञ्चालनमा राज्यबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुहुँदै उहाँले वास्तविक रूपमा काम गरिरहेका उद्यमीहरूले अनुदान पाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई व्यवसायिकीकरण गर्न स्थानीय सरकारले स्पष्ट नीति बनाउनुपर्ने उहाँको सुझाव छ ।
कोसेली घरलाई अझ व्यवस्थित बनाउँदै अनलाइनमार्फत बिक्री विस्तार गर्ने, थप कर्मचारी राख्ने तथा स्थानीय उत्पादनको ब्रान्डिङ र प्याकेजिङ व्यवस्थित गर्ने योजना रहेको अध्यक्ष राईले जानकारी दिनुभएको छ । कोसेली घरलाई व्यवस्थित बनाउन उहाँले एक जना कर्मचारी राखेर मासिक तलब प्रदान गर्दै आउनुभएको छ ।
जिल्लाका महिला उद्यमीले उत्पादन गरेका अचारलगायत खाद्यवस्तु विभिन्न कृषि प्रदर्शनीमा राखिँदै आएको जनाइएको छ । विशेषगरी अकबरे खुर्सानीको अचारले विभिन्न अवसरमा पुरस्कारसमेत प्राप्त गरिसकेको अध्यक्ष राईले जानकारी दिनुभएको छ ।


