खोटाङ, २९ माघ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित नौँवटा सामुदायिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा पृथ्वी मावि बाक्सिलाले ३८ स्वर्ण, ३१ रजत र २५ कास्य पदकसहित प्रथम उपाधि जितेको हो ।
बाक्सिला बजारस्थित पृथ्वी माविको प्राङ्गणमा आयोजित प्रतियोगितामा चार स्वर्ण, छ रजत र पाँच कास्य पदकसहित शुक्रजित मावि खार्ताम्छा दोस्रो तथा तीन स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित रेणुका मावि दिप्सुङ तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५५ हजार, दोस्रो हुने विद्यालयले नगद रु ५० हजारको साथमा मेडल, प्रमाणपत्र तथा तेस्रो हुने विद्यालयले नगद रु ४५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागी फेदी, खार्तम्छा, दिप्सुङ र सुङदेलका विद्यालयलाई रु ४० हजार, बास्पानी, सप्तेश्वरका विद्यालयलाई रु ३५ हजार तथा बाक्सिलाका विद्यालयलाई रु ३० हजार यातायात तथा व्यवस्थापन खर्च उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई सहभागी बापतको रकम प्रदान नगरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता विद्यालय तथा विद्यार्थीलाई गाउँपालिकाका कार्यबाहक गाउँपालिका प्रमुख गुरुराज राई र प्रमुख प्रशासकीय अधिकृत सौधन राईले पुरस्कार वितरण गर्नुभएको छ । भलिबल, सितोरियो कराँते, तेक्वान्दो, दौड, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रो लगायत विभिन्न विद्यामा ४७ स्वर्ण, ४७ रजत र ४७ कास्य पदकका लागि प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगिताका लागि गाउँपालिकाले रु आठ लाख बजेट उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । पृथ्वी मावि बाक्सिलाको व्यवस्थापनमा चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका प्रमुख समिर राई, उपप्रमुख गुरुराज राई र प्रमुख प्रशासकीय अधिकृत सौधनले संयुक्तरुपमा गर्नुभएको थियो ।
गत वर्ष सञ्चालित चौथौ संस्करणको प्रतियोगितामा २३ स्वर्ण, दश रजत र सात कास्य पदकसहित पृथ्वी मावि बाक्सिलाले उपाधि जितेको थियो । लगातार दोस्रो पटक उपाधि जितेको पृथ्वी मावि बाक्सिलाले छैटौँ संस्करणको प्रतियोगिता पनि जितेको खण्डमा राष्ट्रपति रनिङ शिल्ड पच गर्दै आफ्नो बनाउनेछ ।


