–मिनाक्क्षी राई
खोटाङ, २९ माघ । टाउकोमा पानी जम्ने समस्याले गम्भीर बिरामी पर्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३३ वर्षीय रामकुमार थापाको उपचारमा आर्थिक अभाव भएको छ । एकपटक शल्यक्रिया (अप्रेशन) गराइसक्नुभएका थापाको पुनः अप्रेशन गर्नुपर्ने भएपछि खर्च अभाव भएको हो ।
शिक्षण अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका थापाको टाउकोमा अप्रेशनपछि दुईवटा स्टिल प्लेट राखिएको छ । अप्रेशन गर्नेक्रममा राखिएका स्टिल प्लेट निकाल्न नमिल्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
पहिलो अप्रेशन गरेको १९ महिना भएको बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भोग्दै आउनुभएका थापाका लागि यसअघि पनि चन्दा सङ्कलन गरेरै अप्रेशन गरिएको स्थानीयले बताएका छन् ।
अप्रेशनअघि थापाको आँखा राम्ररी नदेख्ने तथा कान नसुन्ने समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । अप्रेशनपछि केही सुधार देखिए पनि करिब तीन महिनापछि शरीरको एकापट्टिको (देब्रे) हात र खुट्टा नचल्ने अवस्था छ ।
पछिल्लो समय हातका औँलाहरू चल्न छोडे पनि उठ्न–बस्न भने सक्ने अवस्थामा रहेको पीडित थापाले बताउनुभएको छ । “आर्थिक अभावका कारण पछिल्लो समय थेरापीसमेत गर्न सकेको छुइन । अस्पताल जान तथा औषधि खरिद गर्न आवश्यक रकम जुटाउन परिवारले सक्ने अवस्था छैन”, उहाँउले भन्नुभयो, “टिकटकमा लाइभ बसेर सहयोग सङ्कलन गर्दै थेरापी, औषधि तथा फलोअप खर्च जुटाउँदै आएको थिएँ । पछिल्लो समय टिकटकबाट प्राप्त हुने सहयोगसमेत घट्दै गएपछि उपचारमा जान सकेको छुइन । मलाई बाँच्ने रहर छ । सकेको सबैले सहयोग गर्न अपिल गरिरहेको छु ।”
यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडा कार्यालयले रामकुमार थापाको उपचारका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण नागरिकलाई अनुरोध गरेको छ । वडा कार्यालय बाम्राङले आगामी वि.सं. २०८३ वैशाख–१२ गतेसम्म नेपाल बैङ्क लिमिटेडमा रहेको बिरामी रामकुमार थापाको खाता नम्बर ३११०१००७६२४६१९०००००१ मा आर्थिक सहयोग पठाउन सार्वजनिकरुपमै अपिल गरेको हो ।
पीडित थापाको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग गर्न सबैसँगै अनुरोध गरिएको बाम्राङका वडाध्यक्ष महेन्द्र राईले जानकारी दिनुभएको छ । थापाको परिवारमा आमा, दाइ–भाउजू, श्रीमती तथा एक छोरी रहेका छन् ।


