खोटाङ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले आफ्नो नयाँ जनवर्गीय सङ्गठन नेशनल भोलेन्टियर फोर्स गठन गरेको छ । नेकपा एमाले खोटाङले हलेसी तुवाचुङ नगरपालिका निवासी सुवास चाम्लिङ राईको कमाण्डमा ९९ सदस्यीय नेशनल भोलेन्टियर फोर्सको जिल्ला समिति गठन गरेको हो ।
जिल्ला फोर्सको सहकमाण्डमा नयन राई, सुपेन राई, सुहाङ राई, राम तामाङ, पुष्कर राई र ज्ञानबहादुर तामाङ चयन हुनुभएको छ । एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा बुधबार दिक्तेलमा आयोजित भेलाले पालिकास्तरीय कमाण्डसमेत चयन गरेको छ ।
दश स्थानीय तह रहेको जिल्लामा जन्तेढुङ्गा गाउँपालिका बाहेक सबै स्थानीय तहमा पालिकास्तरीय कमाण्ड तोकिएको नेशनल भोलेन्टियर फोर्सका केन्द्रीय हेडक्वाटर सचिवालय सदस्य दिलचक्रम राईले जानकारी दिनुभएको छ । सदस्य राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विजय लामा, हलेसी तुवाचुङ नगरपालिकामा धिरेन राई, खोटेहाङ गाउँपालिकामा विनोद तिरुवा, बराहपोखरी गाउँपालिकामा विकास तामाङ, ऐसेलुखर्क गाउँपालिकामा सविन राई, रावाबेँसी गाउँपालिकामा पूर्ण राई, साकेला गाउँपालिकामा आसकुमार राई र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा उत्तम खड्कालाई पालिकास्तरीय कमाण्ड चयन गरिएको जनाइएको छ ।
समाजमा हुने नकारात्मक गतिविधिलाई निरुत्साहित गर्दै सकारात्मक र रचनात्मक अभियानलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेशनल भोलेन्टियर फोर्स गठन गरिएको एमालेले जनाएको छ । एमालेका २३ वटा जनवर्गीय सङ्गठन सक्रिय रहँदै आएकामा थप यो नेशनल भोलेन्टियर फोर्स पनि गठन गरेको हो ।
नेशनल भोलेन्टियर फोर्सले दिक्तेल बजारमा मोटरसाईकल ¥यालीसमेत निकालेको थियो । दिक्तेलस्थित पुष्पलाल स्मृति भवनबाट सुरु गरिएको मोटरसाईकल ¥यालीमा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज भट्टराई, केन्द्रीय सदस्य विणादेवी राई, जिल्ला, उपाध्यक्ष कुमार आचार्य, सचिव सुरेन्द्रकुमार राई, निवर्तमान जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल, एमाले नेता एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपनारायण रिजाल लगायतका नेताहरुको सहभागिता थियो ।
प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा एमालेको भातृ सङ्गठन नेशनल भोलेन्टियर फोर्सले दिक्तेल बजारमा मोटरसाईकल ¥याली निकालेकामा बिरोध सुरु भएको छ । जिल्लास्थित अन्य राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहिता विपरित एमालेले शक्ति प्रदर्शन गरेको भन्दै सामाजिक सञ्जालमार्फत बिरोध गरेका हुन् ।


