भारतको कोइलाखानीमा विष्फोट हुँदा ज्यान गुमाउने खोटाङ्गेको भारतमै अन्त्येष्टि गरियो

Halesi Khabar

खोटाङ, २७ माघ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा ज्यान गुमाउने खोटाङका तीन युवाको शव भारतमै अन्त्येष्टि गरिएको छ । मेघालयस्थित अवैध कोइलाखानीमा यही माघ–२२ गते भएको विष्फोटमा ज्यान गुमाउनुभएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र सोही वडाको भञ्ज्याङ निवासी ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको अन्त्येष्टि गरिएको हो ।

विष्फोटमा ज्यान गुमाउनुभएका तीनै जनाको शव नेपाल निकाल्न नसकिने अवस्था भएपछि सिलोङको भालुपारा भन्ने ठाउँमा सोमबार अन्त्येष्टि गरिएको घटनास्थल पुग्नुभएका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभएको छ । “विष्फोटका कारण ज्यान गुमाउनुभएका सबै जनाको शव गलेको अवस्थामा थियो । विष्फोटपछि कोइलाखानीभित्र लागेको आगोले डढेको शव नेपाल निकाल्न धेरै खर्च लाग्ने भएकाले भारतमै अन्त्येष्टि गरियो”, उहाँले भन्नुभयो, “मृतकका परिवारले शवलाई नेपाल निकाली दिन अनुरोध गरेका थिए । तर, आगोले तीनै जनाको शव धेरै डढेकाले सम्भव भएन । त्यसैले भारतमै अन्त्येष्टि गरेर फर्कने तयारीमा छौँ ।”

कोइलाखानीमा भएको विष्फोटका घटनामा खोटाङकै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई पनि बेपत्ता हुनुभएको जनाइएको छ । रोजगारीका सिलसिलामा गत असोज–९ गते मेघालय जानुभएका रत्नको मृत्यु भइसकेको भन्दै किरात संस्कारअनुसार आईतबार मुण्डन गरेर काजकिरिया सुरु गरिएको आफन्त भोगिन्द्र राईले बताउनुभएको छ ।

विष्फोटमा बेपत्ता रत्नको नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएको जनाइएको छ । मेघालयमा सँगै बसेर काम गर्दै आउनुभएका भोजपुरका आफन्तकाअनुसार रत्न कोइलाखानीभित्र पसेको समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रबिक्रम राउतले बताउनुभएको छ ।

विष्फोटका घटनामा गम्भीर घाइते भएका नेपालका चार जनाको सिलोङस्थित निलग्रीन हस्पिटल (अस्पताल)मा उपचार भइरहेको जनाइएको छ । घटनास्थल पुग्नुभएका प्रकाशकाअनुसार बराहपोखरी गाउँपालिका–१ सालघारीका ४७ वर्षीय कर्णबहादुर खपाङ्गी मगर र भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ४८ वर्षीय दावा शेर्पा तथा उदयपुरको त्रियुगा नगरपालिकास्थित साउनेका ललितबहादुर लुङ्गेली मगरको उपचार भइरहेको हो ।

विष्फोटमा ज्यान गुमाउने सालघारीका पूर्णिराम र सुरेन्द्र एकाघरको दाजुभाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । विष्फोटमा गम्भीर घाइते हुनुभएका नरबहादुरको उपचारको क्रममा माघ–२३ गते मृत्यु भएको हो ।

रोजगारीको सिलसिलामा गत पुस–३ गते घरबाट भारतको मेघालय पुगेका तीन जनाको एउटै घटनामा ज्यान गएपछि बराहपोखरी गाउँपालिका शोकमा डुबेको छ । सालघारीका खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका मृतक छोराहरुमध्ये पूर्णिराम विवाहित रहेको स्थानीयले बताएका छन् ।

कोइलाखानीमा भएको विष्फोटपछि सँगै काम गर्दै आउनुभएका सोही गाउँपालिका–१ वालम्पाका ताराबल मगरले फोनमार्फत घटनाको बारेमा जानकारी गराउनुभएको थियो । मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये विष्फोटका घटनामा ताराबल मात्रै सकुशल रहेको जनाइएको छ ।

मेघालयको कोइलाखानीमा भएको विस्फोटमा हालसम्म २७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । विष्फोटको घटनामा दर्जनौँ कामदार अझै पनि कोइलाखानीको प्वालभित्रै फसेको अनुमान गरिएको छ ।

मेघालयमा भएको घटनापछि मृतकका परिवारलाई राहत तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरु गरिएको स्थानीय इन्द्र लिमेल मगरले जानकारी दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर ग्रुप बनाएर थालिएको सहयोग सङ्कलन अभियानमा देश÷विदेशबाट नेपालीहरुले सहयोग गरिरहेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया