कोइलाखानी विस्फोट घटना अपडेट : खोटाङका तीन युवाको मृत्यु, एक बेपत्ता

Halesi Khabar

खोटाङ, २५ माघ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा खोटाङका तीन युवकले ज्यान गुमाएका छन् भने, एक जना बेपत्ता तथा दुई जना गम्भीर घाइते भएका छन् । मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा यही माघ–२२ गते विस्फोट हुँदा बरापोखरी गाउँपालिका–१ बरापोखरीको सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो ।

कामदारहरु कोइलाखानीभित्र काम गर्दै गर्दा भएको विष्फोटमा पर्नुभएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता हुनुभएको जानकारी आएको छ । विस्फोटपछि बेपत्ता हुनुभएका रत्नको कोइलाखानीभित्रै जलेर ज्यान गएको अनुमान गरिएको सँगै काम गर्ने साथीहरुले बताएका छन् ।

मेघालयमा सँगै बसेर काम गर्दै आउनुभएका भोजपुरका आफन्तका अनुसार रत्न कोइलाखानीभित्र पसेको समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रबिक्रम राउतले बताउनुभएको छ । विष्फोटपछि उद्धार गर्नेक्रममा कोइलाखानीभित्र भेटिएका शवहरू आगोले डढेर नचिनिने अवस्थामा रहेको सँगै बस्दै आएका आफन्तले परिवारलाई जानकारी गराएका छन् ।

विष्फोटमा बेपत्ता रत्नको नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएको जनाइएको छ । कोइलाखानीमा बेपत्ता रत्न रोजगारीका सिलसिलामा गत असोज–९ गते मेघालय जानुभएको आफन्तले बताएका छन् ।

विष्फोटमा गम्भीर घाइते हुनुभएका नरबहादुरको उपचारको क्रममा माघ–२३ गते मृत्यु भएको जानकारी प्राप्त भएको स्थानीय शिवकुमार श्रेष्ठले बताउनुभएको छ । घटना भएकै दिन ज्यान गुमाउनुभएका पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ भएको स्थानीय इन्द्र लिमेल मगरले जानकारी दिनुभएको छ ।

विस्फोटमा पर्नुभएका बरापोखरी गाउँपालिका–१ सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते छन् । उनीहरुको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सँगै काम गर्दै आउनुभएका राहपोखरीस्थित वालम्पाका ताराबल मगरले जानकारी दिनुभएको छ ।

विष्फोटपछि ताराबलले नै फोनमार्फत घटनाको बारेमा जानकारी गराउनुभएको मृतकका आफन्तले बताएका छन् । मेघालयको कोइलाखानीमा भएको विस्फोटमा हालसम्म २७ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

विष्फोटको घटनापछि दर्जनौँ कामदार कोइलाखानीको प्वालभित्रै फसेको अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । कोइलाखानीमा फसेका कामदारको उद्धार कार्य जारी रहेको भारतीय सरकारले जनाएको छ ।

विष्फोटमा ज्यान गुमाएका खोटाङ्गे युवाको शव मेघालयबाट घरमा ल्याउनका लागि परिवारका सदस्यलाई कठिनाइ भएको छ । विष्फोटमा आफन्तको ज्यान गएको जानकारी प्राप्त भएपछि घरबाट तीन दिन लगाएर भारतको मेघालय पुगेको मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभएको छ ।

मृतकको शव नेपाल ल्याउन तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरु गरिएको छ । सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर ग्रुप बनाएर थालिएको सहयोग सङ्कलन अभियानमा देश÷विदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेको स्थानीय प्रकाश बञ्जराले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया