खोटाङ, २५ माघ । केपिलासगढी गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय पाँचाँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्र सञ्चालित नौँवटा विद्यालयको सहभागिता रहेको आईतबारबाट सुरु गरिएको हो ।
प्रतियोगितामा भलिबल, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड, १०० मिटर, ४०० मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रो, कराते र तेक्वान्दोसहित ४७ स्वर्ण पदकका लागि खेल हुनेछ । प्रतियोगितामा प्रथम हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५५ हजार, दोस्रो हुने विद्यालयले रु ५० हजार, तेस्रो हुने विद्यालयले रु ४५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फेदी, खार्तम्छा, दिप्सुङ र सुङदेलका सहभागी विद्यालयलाई रु ४० हजार, बास्पानी, सप्तेश्वरका सहभागी विद्यालयलाई रु ३५ हजार तथा बाक्सिलाका विद्यालयलाई रु ३० हजार यातायात तथा व्यवस्थापन खर्च उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई सहभागी बापतको रकम प्रदान नगरिने जनाइएको छ ।
प्रतियोगिताका लागि गाउँपालिकाले रु आठ लाख बजेट उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिनुभएको छ । पृथ्वी मावि बाक्सिलाको व्यवस्थापनमा सोही विद्यालयमा प्रतियोगिता सुरु गरिएको हो ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गाउँपालिका प्रमुख समिर राई, उपप्रमुख गुरुराज राई र प्रमुख प्रशासकीय अधिकृत सौधनले संयुक्तरुपमा गर्नुभएको छ । गत वर्ष सञ्चालित चौथौ संस्करणको प्रतियोगितामा २३ स्वर्ण, दश रजत र सात कास्य पदकसहित पृथ्वी मावि बाक्सिलाले उपाधि जितेको थियो ।


