खोटाङ, २५ माघ । साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले आफ्नो जन्मदिनको अवसर पारेर राज्यबाट सेवा–सुविधाबापत प्राप्त गर्नुभएको रकम अपाङ्गता सम्बन्धी काम गर्ने संस्थालाई प्रदान गर्नुभएको छ । गाउँपालिका प्रमुख राईले माघ–२४ गते परेको आफ्नो जन्मदिनको अवसर पारेर गाउँपालिकाभित्र पर्ने पाँचवटै वडामा गठन गरिएको मिलिजुली समूहलाई रु १५ हजारका दरले रु ७५ हजार रकम प्रदान गर्नुभएको हो ।
गाउँपालिकाले आयोजना गरेको आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा गाउँपालिका प्रमुख राईले अपाङ्ग सेवा सङ्घ साकेला गाउँपालिका अध्यक्ष तीर्थबहादुर राईमार्फत समूहलाई रकम हस्तान्तरण गर्नुभएको पञ्जीकरण शाखा प्रमुख डिएम चाम्लिङले जानकारी दिनुभएको छ । आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुहुँदै गाउँपालिका प्रमुख राईले अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले आफ्नो सेवासुविधाबापत नेपाल सरकारबाट प्राप्त रकम सामाजिक कार्यमा प्रयोग गरेको बताउनुभएको छ ।
बेलायती सेना (ब्रिटिस आर्मी)का पेन्सनरसमेत रहनुभएका गाउँपालिका प्रमुख राईले व्यक्तिगत उत्सवलाई समाज सेवामूलक कार्यसँग जोड्दै आफूले गरेको सहयोगले समावेशी समाज निर्माणमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेको बताउनुभएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा निवासी गाउँपालिका प्रमुख राईले यसअघि पनि आफ्नो जन्मदिनको अवसर पारेर राज्यबाट प्राप्त रकम विभिन्न सामाजिक कार्यका लागि सहयोग गर्दै आउनुभएको थियो ।
नेपाली काँग्रेसबाट निर्वाचित गाउँपालिका प्रमुख राईले गत वर्ष गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति भनेर नगद रकम प्रदान गर्नुभएको थियो । दुई वर्षअघि बाल विकास केन्द्रमा भर्ना भएका बालबालिकाका लागि उपयोगमा ल्याउन एलसिडी ट्याब्लेट वितरण गर्नुभएको थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा उपस्थित स्थानीयवासी तथा सरोकारवाला निकायले गाउँपालिका प्रमुख राईको यो कदमलाई प्रशंसा गरेका छन् । सहयोग रकमले अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार गर्न तथा समावेशी गतिविधि सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको सङ्घका अध्यक्ष तीर्थबहादुरले बताउनुभएको छ ।
जिल्लाको सबैभन्दा सानो (पाँचवटा मात्र वडा रहेको) साकेला गाउँपालिकाले सामाजिक न्याय, समावेशी विकास र मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । गाउँपालिका प्रमुख राईले व्यक्तिगत रूपमा गरेको यो सहयोग गाउँपालिकाले अवलम्बन गर्दै आएको समावेशी र सामाजिक उत्तरदायित्वको नीतिसँग मेल खाने निरन्तर प्रयासको रूपमा हेरिएको स्थानीयले बताएका छन् ।


