विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी भएपछि शिविर राखेर उपचार सुरु

Halesi Khabar

खोटाङ, २५ माघ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचारको प्रबन्ध मिलाइएको हो ।

विवाह भोज खाएकाहरुलाई ‘फुडपोइजन’ भएको आशंका गरिएको स्थानीय वीरबल किरातीले बताउनुभएको छ । यही माघ–२१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी भोलिपल्ट अर्थात् माघ–२२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् ।

बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन् । विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभएको छ ।

शिविरमा स्वास्थ्यमा समस्या आएका स्थानीय उपचारका लागि आउने र जानेक्रम जारी रहेको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिनुभएको छ । उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले माघ–२३ गतेदेखि निगालावास भञ्ज्याङमा भेला गरेर उपचारको प्रबन्ध मिलाएको हो ।

भोज खाएर फर्किएका उदयपुर, काठमाडौँ लगायतका पाहुनासमेत बिरामी परेको खबर आएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले जानकारी दिनुभएको छ । “शिविरमा अहिले पनि ३५ जनालाई स्लाइनपानी र औषधि दिएर उपचार गरिरहेका छौँ । विवाह भोज खाएका सबै बिरामी भएका छन्”, उहाँले भन्नुभयो, “विवाहमा करिब २०० जनाले भोज खाएको अनुमान गरिएको छ । शिविर सञ्चालन गरेपछि सबैतिरबाट फोन आउन थालेको छ । उनीहरुको उपचारको व्यवस्था मिलाउन पहल भइरहेको छ ।”

गाउँपालिकाले दिएको अनुसार विवाह भोज खाएका जति सबै स्थानीय बिरामी परेका छन् । बिरामी परेर उपचारका लागि शिविरमा ल्याइएका धेरैजसो बिरामी उपचारपछि घर फर्किएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

विवाह भोजमा भएको ‘फुडपोइजन’को कारण पत्ता लगाउने प्रयास भइरहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बताउनुभएको छ । “विवाह भएको धेरै दिन भएकाले भोजको स्याम्पल सङ्कलन गर्न सकिने अवस्था छैन । भोज खाएर काठमाडौँ गएका एउटा बिरामीलाई टेकु पठाएका छौँ”, उहाँले भन्नुभयो, “फुडपोइजनले धेरै दुर्घटना हुनसक्छ । जन्तेढुङ्गामा बिरामी पहिचान भएलगत्तै औषधि उपचार सुरु गरिएकाले ठूलो घटना नहोला भन्नेमा हामी विश्वस्त छौँ ।”

बिरामी चाप बढ्दै गएपछि आधारभूत अस्पतालमा समेत उपचारको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । प्रभावित क्षेत्र बाहिरका तथा जटिल किसिमका बिरामीलाई आधारभूत अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया