आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माविलाई

Halesi Khabar

खोटाङ, २४ माघ । साकेला गाउँपालिकाले आयोजना गरेको आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित छवटा माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा सात स्वर्ण, सात रजत र चार कास्य पदकसहित साबिक विजेता राधाकृष्ण माविले आठौँ संस्करण अन्तरगत आयोजित प्रतियोगिताको उपाधि जितेको हो ।

प्रतियोगितामा सात स्वर्ण, तीन रजत र छ कास्य पदकसहित साकेला माध्यमिक विद्यालय रतन्छा द्धितीय तथा पाँच स्वर्ण, छ रजत र पाँच कास्य पदकसहित बालबालिका माध्यमिक विद्यालय नौलाखर्क तृतीय भएको छ । २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि आयोजना गरिएको प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र सात कास्य पदकसहित विद्योदय माध्यमिक विद्यालय खिदिमा चौथो, एक स्वर्ण, एक रजत र एक कास्य पदहसहित सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ता पाँचौँ तथा तीन रजत र दुई कास्य पदकसहित चण्डेश्वरी माध्यमिक विद्यालय डाँडागाउँ छैटौँ भएको छ ।

प्रतियोगिताका पुरस्कृत विद्यालय तथा उपाधि जिताउने विद्यार्थीलाई गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, वडाध्यक्ष हेमन राई लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको छ । भलिबल, हाइजम्प, लङजम्प, सर्टफुट, दौड, ज्याबलिन थ्रो र ट्रिपल जम्प समावेश गरिएको प्रतियोगिताका लागि गाउँपालिकाले रु तीन लाख र वडा कार्यालय बाँझेच्यानडाँडाले रु एक लाख बजेट उपलब्ध गराएको गराएको गाउँपालिकाका शिक्षा संयोजक कविराज राईले जानकारी दिनुभएको छ ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख राईले शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थीको सर्वाङ्गिण विकाससँग जोड्नका लागि गाउँपालिकाले नीति निर्माण गरेर कार्यान्वयनमा ल्याएको जानकारी दिनुभएको छ । “खेलकुदले विद्यार्थीको अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्छ । गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै आएको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई शिक्षामा समान पहुँच र अवसर सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व पनि हो । विद्यार्थीको सर्वाङ्गिण विकासका लागि गाउँपालिकाले विभिन्न क्रियाकलाप गरिरहेको छ ।”

खेलकुदमार्फत विद्यार्थीको प्रतिभा पहिचान तथा विकास, अनुशासन र स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकाको आयोजना तथा चण्डेश्वरी मावि डाँडागाउँको व्यवस्थापनमा बाँझेच्यानडाँडास्थित खेलमैदानमा तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया