–मिनाक्क्षी राई
खोटाङ, २३ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दशवटै स्थानीय तहमा चुनावीसभा आयोजना गर्ने भएको छ । आगामी निर्वाचनका लागि अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकालाई उम्मेदवार बनाएर चुनावी अभियानमा होमिएको नेकपा खोटाङले सार्वजनिक गरेको चुनावी कार्यक्रमअनुसार फागुन–५ गतेदेखि १८ गतेसम्म जिल्लाका दशवटै स्थानीय तहमा चुनावीसभा आयोजना गर्ने भएको हो ।
नेकपाको निर्वाचन परिचालन समितिले दिएको जानकारीअनुसार फागुन–५ गते बराहपोखरी गाउँपालिकाको धुर्तुङ, फागुन–६ गते जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजार, फागुन–७ र ८ गते खोटेहाङ गाउँपालिकाको खोटाङ बजार र सिम्पानी बजारमा चुनावीसभा आयोजना गर्ने भएको छ । यस्तै, फागुन–९ गते साकेला गाउँपालिकाको मात्तिम मानेभञ्ज्याङ र फागुन–११ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमी बजार, फागुन–१३ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार, फागुन–१४ गते हलेसी तुवाचुङ नगरपालिकाको हलेसी बजार, फागुन–१५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपास्थित पञ्चदोबाटो, फागुन–१६ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजार, फागुन–१७ गते रावाबेँसी गाउँपालिकाको हरमटार र फगुन–१८ गते दिक्तेल बजारमा चुनावीसभा आयोजना गरिएको छ ।
संविधानसभा सदस्यसमेत रहनुभएका डा. रोकालाई विजयी गराउने नेकपा खोटाङले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टङ्क राईको संयोजकत्वमा चुनावी कमाण्डर तोकेर घरदैलो अभियान गरिरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट यही माघ–७ गते सुरु गरिएको घरदैलो अभियान साकेला गाउँपालिका प्रवेश गरेको चुनाव प्रचारप्रसार समितिका संयोजक एवम् पूर्वमन्त्री राजन राईले जानकारी दिनुभएको छ ।
उम्मेदवार डा. रोकाको चुनावी अभियानमा नेकपाका छ जना पूर्वसांसद तथा मन्त्रीहरुका साथै केन्द्रीय नेताहरु सहभागी छन् । घरदैलो अभियानमा पूर्व सांसदहरु टङ्क राई र कुलप्रसाद फुयाल, संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वउर्जा, जलश्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ र कोशी प्रदेश सरकारकै पूर्वसामाजिक विकासमन्त्री राजन राई सहभागी हुनुभएको छ ।
चुनावीसभाका लागि घोषणापत्र तयार गर्ने काम भइरहेको नेकपाले जनाएको छ । उम्मेदवार डा. रोकाले कृषकहरुको आवाज बनेर प्रतिनिधिसभा छिर्नका लागि आफूले आगामी निर्वाचनका लागि उम्मेदवारी दिएको प्रतिक्रिया दिनुभएको छ ।
प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा यस वर्ष पुरानै तीन राजनीतिक दल (काँग्रेस, एमाले र नेकपा) का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताएका छन् ।


