साकेलामा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Halesi Khabar

खोटाङ, २१ मघ । साकेला गाउँपालिकामा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खेलकुदमार्फत विद्यार्थीको प्रतिभा पहिचान तथा विकास, अनुशासन र स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।

गाउँपालिकाभित्र सञ्चालित छवटा माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा भलिबल, हाईजम्प, लङजम्प, सर्टफुट, दौड, ज्याबलिन थ्रो र ट्रिपल जम्प समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि सहभागी विद्यार्थीबीच प्रतिस्पर्धा हुने आयोजक विद्यालयका प्रधानाध्यापक दिलकुमार देउजाले जानकारी दिनुभएको छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको औपचारिक उद्घाटन आज (बुधबार) गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राईले पानसमा बत्ती बालेर गर्नुभएको छ । गाउँपालिकाको आयोजना तथा चण्डेश्वरी माध्यमिक विद्यालय डाँडागाउँको व्यवस्थापनमा वडा नं.–१ बाँझेच्यानडाँडास्थित खेलमैदानमा आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुने विद्यालयले ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाले रु तीन लाख र वडा कार्यालय बाँझेच्यानडाँडाले रु एक लाख बजेट उपलब्ध गराएको गाउँपालिकाका शिक्षा संयोजक कविराज राईले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख राईले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभइ विद्यार्थीको सर्वाङ्गिण विकाससँग जोडिनुपर्ने बताउनुभएको छ । प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएका गाउँपालिका प्रमुख राईले खेलकुदले अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्ने भएकाले गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि पूर्वाधार निर्माण, गुणस्तर निर्धारण र अतिरिक्त क्रियाकलापलाई समानरुपमा प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रमुख राईले शिक्षामा समान पहुँच र अवसर सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुहुँदै छात्रा, बिपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित कार्यक्रमहरूलाई गाउँपालिका निरन्तरता दिँदै आएको बताउनुभएको छ । गाउँपालिकाले आयोजना गरेको खेलकुद प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचानमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुहुँदै उहाँले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने गाउँपालिकाको नीति रहेको पनि जानकारी दिनुभयो ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा साकेला गाउँपालिकाका निवर्तमान गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’, वडा नं. १ का वडाध्यक्ष हेमन राई, गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ५ का वडाध्यक्ष जीवन खत्री, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । गत वर्ष सम्पन्न सातौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाले जितेको थियो ।

तपाईको प्रतिक्रिया