एमाले नेता एवम् केपिलासगढीका पूर्वगाउँपालिका प्रमुख कृष्णकुमार राई नेकपा प्रवेश

Halesi Khabar

खोटाङ, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेता एवम् केपिलासगढी गाउँपालिकाका पूर्व गाउँपालिका प्रमुख कृष्णकुमार राईसहितका एमाले नेताहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपा खोटाङले मङ्गलबार बाक्सिला बजारमा आयोजना गरेको पार्टी कार्यक्रममा एमाले नेता राईसहित एमाले गाउँपालिका उपसचिव रमेश परियार, इलाका समिति सदस्य निरण श्रेष्ठ, वडा नं. ४ बाक्सिला गाउँ कार्यसमिति अध्यक्ष दिनेश राई लगायतका १८ जना नेता तथा कार्यकर्ताले एमाले परित्याग गरेर नेकपा प्रवेश गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जनताको भवना बुझ्ने र जेनजी आन्दोलनपछि सबैभन्दा पहिले पुनः गठन भएको पार्टी भएकाले आफू पनि नेकपा प्रवेश गरेको नेता राईले बताउनुभएको छ । “एमालेले जनताको भावना बुझ्न सकेन । त्यहाँ रहेर अहिले जनताको घरमा जान सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछि देशभर नेकपाको पक्षमा जनमत जुट्दै गएको छ । म आफू पनि राजनीतिक व्यक्ति हुँ । जनताको सेवा गर्न एमाले परित्याग गरेर नेकपा प्रवेश गरेको हुँ ।”

पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टङ्क राई, केन्द्रीय सदस्य एवम् पूर्वमन्त्रीहरु रामकुमार राई ‘पासाङ’ र राजन राई, केन्द्रीय सदस्य भीम राई, जलशेर राई लगायतले स्वागत गर्नुभएको छ । नेकपा प्रवेशसँगै पार्टीले दिएको जिम्मेवारीमा रहेर जनताको सेवामा समर्पित हुने नेता राईले प्रतिवद्धता जनाउनुभएको छ ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि टङ्क राईले जिल्लामा नेकपाको जित सुनिश्चित रहेको बताउनुभएको छ । “जनताको अपेक्षा नेकपाले मात्रै पूरा गर्न सक्छ । पछिल्लो समय नेकपाप्रति देशभर जनलहर बढिरहेको छ । आगामी निर्वाचनपछि नेकपा देशको ठूलो पार्टी बन्छ”, उहाँले भन्नुभयो, “निर्वाचनपछि नेकपाले सरकारको पनि नेतृत्व गर्छ । नेकपाको सरकारले जेनजीको चाहनाअनुसार सुशासन कायम गर्दै देशको विकास गर्छ । त्यसैले नेकपालाई बहुमत दिलाउन सबैले साथ दिन जरुरी छ ।”

नेकपा खोटाङका उम्मेदवार डा. हरि रोका लगायत जिल्लास्थित नेताहरुको उपस्थितिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी स्थानीयवासी पूर्वगाउँपालिका प्रमुख राईको नेकपा प्रवेशले उत्साहित बनेका छन् । नेकपाका उम्मेदवार अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. रोकाले कृषकको आवाज बनेर प्रतिनिधिसभामा छिर्नका लागि यस पटकको निर्वाचनमा आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।

उम्मेदवारी दर्ता गरेको भोलिपल्ट माघ–७ गतेबाटै दिक्तेलस्थित किरातचोकबाट घरदैलो अभियान सुरु गर्नुभएका डा. रोकालाई जनताको बीचमा लगेर विजयी गराउन पूर्व सांसदहरु टङ्क राई र कुलप्रसाद फुयाल, संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वउर्जा, जलश्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ र कोशी प्रदेश सरकारकै पूर्वसामाजिक विकासमन्त्री राजन राईले साथ दिनुभएको छ । चुनावी कमाण्डर तथा घरदैलो अभियान र औपचारिक कार्यक्रमसमेत तोकेर चुनावी अभियानमा जुट्नुभएका डा. रोकाले तीनवटा स्थानीय तहको घरदैलो सम्पन्न गरिसक्नुभएको छ ।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा यस वर्ष पूरानै तीन राजनीतिक दल (काँग्रेस, एमाले र नेकपा)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया