हलेसी दर्शन गरेर फर्कनेक्रममा सुमो दुर्घटना हुँदा भुटानी नागरिकसहित तीन घाइते

Halesi Khabar

खोटाङ, २० माघ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित लाकुरीभञ्ज्याङमा ना १ ज ८७८१ नम्बरको सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने सडकखण्डमा अनियन्त्रित भएको सुमो सडकको भित्तातर्फ पल्टिँदा भुटान थिम्बुका ७२ वर्षीय वृद्ध कार्दुङ, डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँका ३५ वर्षीय लोकराज जोशी र गोरखाको चुमनुब्री गाउँपालिका–८ का ५८ वर्षीय लोप्साङ लामा घाइते हुनुभएको हो ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि उदयपुरको जनसेवा क्लिनिक घुर्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । भुटानी नागरिक कार्दुङको टाउको र जोशीको काँधमा भित्री चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाडौँतर्फ जाँदै गरेको सुमो दुर्घटनामा अन्य चार जना सकुशल रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत सडकखण्डमा पर्ने विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी दर्शन गरेर काठमाडौँ फर्कनेक्रममा सुमो दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।

दुर्घटना लगत्तै सुमो चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–७ का ३७ वर्षीय बुद्धमान श्रेष्ठलाई प्रहरीचौकी च्यास्मिटारले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेको सुमोमा सात यात्रु सवार रहेको यातायात व्यवसायीहरुले बताएका छन् ।

निक्कै व्यस्त रहने मध्यपहाडी लोकमार्गको बीच सडकमा सुमो दुर्घटना भएपछि केही समय यातायात अवरुद्ध भएको थियो । दुर्घटनाग्रस्त सुमोलाई सडक किनारमा सारेर नियमित यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया