एमाले खोटाङको निर्वाचन लक्षित काठमाडौँ, इटहरी र गाईघाटमा खोटाङे भेला सकियो

Halesi Khabar

–मिनाक्क्षी राई
खोटाङ, १९ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) खोटाङले चुनावी तयारीस्वरूप विभिन्न स्थानमा खोटाङे भेला सम्पन्न गरेको छ । एमालेले माघ–१७ गते काठमाडौँस्थित सम्पर्क मञ्चमा तथा माघ– १८ गते इटहरी र गाईघाटमा खोटाङे भेला सम्पन्न गरेको हो ।

भेलामा सहभागी खोटाङका मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको थियो । उम्मेदवार देवबिक्रम राईले छिट्टै खोटाङ फर्किएर जिल्लाभर मत माग्ने, जनसम्पर्क बढाउने तथा आफू स्वयम् पनि मतदान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

एमाले खोटाङका अध्यक्षसमेत रहनुभएका राईले चार दशकभन्दा अघिदेखि पार्टीको निष्ठावान सिपाहीका रूपमा निरन्तर काम गर्दै आउनुभएको छ । सोही राजनीतिक यात्राको निरन्तरताका रूपमा राई आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङ जिल्लाबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा निवासी बुबा शुभशेर राई र आमा जम्मासरी राईको जेठो सन्तानका रुपमा वि.सं. २०२६ असार–२२ गते जन्मनुभएका नेता राईले नेपाली विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ । वि.सं. २०४२ सालमा बुइपास्थित चम्पावती माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गर्नुभएका नेता राईले वि.सं. २०५१ सालमा रत्नराज्य क्याम्पस काठमाडौँबाट नेपाली विषयमा स्नातकोत्तर उत्तिर्ण गर्नुभएको हो ।

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गर्नुभएका नेता राई वि.सं. वि.सं. २०४७ सालमा खोटाङ–सुनसरी सम्पर्क समिति अध्यक्ष हुँदै वि.सं. २०५२ सालमा खोटाङ–काठमाडौँ सम्पर्क मञ्चको कोषाध्यक्ष भएर काम गर्नुभएको थियो । राजनीतिलाई सामाजिक सेवाका रुपमा उपयोग गर्दै आउनुभएका अगुवा कृषक एवम् साहित्यकार राईको ‘आस्थाका भण्डाहरु’ कविता सङ्ग्रहसमेत बजारमा आएको थियो ।

पार्टीको पाँचौँ जिल्ला अधिवेशन ताका जिल्ला फर्कनुभएका नेता राई उक्त अधिवेशनबाट जिल्ला सदस्य, छैटौँ जिल्ला अधिवेशनमा सचिव, सातौँमा उपाध्यक्ष र आठौँमा जिल्ला अध्यक्ष निर्वाचित हुनुभएको थियो । वि.सं. २०५७ सालमा खोटाङ सेवा समाज काठमाडौँको महासचिवसमेत हुनुभएका एमाले नेता राईले आठौँ जिल्ला अधिवेशनमा रामप्रसाद दंलाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

तपाईको प्रतिक्रिया