प्रतिनिधिसभा निर्वाचन : खोटाङका २१ मतदानस्थल अतिसंवेदनशील

Halesi Khabar

खोटाङ, १५ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रतिनिधिसभातर्फ एउटामत्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा आगामी निर्वाचनका लागि १३६ वटा मतदानस्थल निर्धारण गरिएको छ ।

आगामी निर्वाचनका लागि जिल्लामा निर्धारण गरिएका मतदानस्थलहरुलाई तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिनुभएको छ । “प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना अन्तरगत मतदानस्थलहरु निरीक्षण तथा अनुगमन गरेका थियौँ । अनुगमन प्रतिवेदनको आधारमा जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेका छौँ”, उहाँले भन्नुभयो, “मतदातालाई सुरक्षित र भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउँछौँ । मतदानस्थलको पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा निर्वाचन प्रहरी र जनपद प्रहरी परिचालन हन्छ ।”

आगामी निर्वाचनका लागि निर्धारण गरिएका १३६ मतदानस्थलमा १९५ वटा मतदान केन्द्र रहने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस वर्षको निर्वाचनमा एक लाख ४७ हजार १२० जना मतदाता मतदानका लागि योग्य रहेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन भए÷नभएको अनुगमन तथा कारबाहीका लागि दुई जना अनुगमन अधिकृतसमेत तोकिएको छ । उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे÷नगरेको अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो ।

अनुगमन अधिकृतले जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेटलगायत लगाए÷नलगाएको, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार पोस्टर, भित्तेलेखन, तुल, डिजिटल डिस्प्लेको प्रयोग भए÷नभएको विषय अनुगमन गर्नेछन् । निर्वाचन आचारसंहिताअनुसार सवारी साधनको प्रयोग भए÷नभएको, घोषणापत्र सार्वजनिक गरे÷नगरेको, निर्वाचन प्रचार प्रसारका लागि सरकारी, सार्वजनिक निकाय, गैर–सरकारी संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग लिए÷नलिएको, निर्वाचन खर्चका लागि बैङ्क तथा वित्तीय संस्थामा छुट्टै खाता खोल्ने तथा खर्च गर्ने पदाधिकारी तोकी खर्च गर्ने व्यवस्था गरे÷नगरेको लगायतका विषयमा अनुगमन गर्नेछन् ।

दश स्थानीय तह रहेको जिल्लामा आगामी नर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जना नेताहरु उम्मेदवारी दर्ता गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु आ–आफ्न चुनावी एजेन्डा लिएर जनताको घरदैलोमा पुग्न थालेका छन् ।

आगामी निर्वाचनका लागि नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा. हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अघिल्लो निर्वाचनको समानुपातिक मत परिणमलाई आधार मानेर हेर्दा यो निवर्माणमा पनि पूरानै तीन राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् । वि.सं. २०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेको २४ हजार २७१, काँग्रेसको १८ हजार ६७२, माओवादी केन्द्रको ११ हजार ८४५, एकीकृत समाजवादीको तीन हजार ३६३, जसपा नेपालको दुई हजार २४८, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक हजार २५५ मत खसेको थियो ।

 

तपाईको प्रतिक्रिया