निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मा सहायक प्रजिअ र कोष नियन्त्रकलाई

Halesi Khabar

खोटाङ, १४ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा आचारसंहिता उल्लङ्घन भए÷नभएको अनुगमन गर्न दुई जना अनुगमन अधिकृत तोकिएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे÷नगरेको अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो ।

अनुगमन अधिकृतले राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सञ्चारमाध्यमले गर्ने आचारसंहिता पालना गरे÷नगरेको विषयलाई नियमन गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ । “आगामी निर्वाचन सफल बनाउन सबैको उत्तिकै दायित्व हुन्छ । यसमा जिल्लास्थित सबै राजनीतिक दलका नेताहरु प्रतिवद्ध रहनुभएको छ”, उहाँले भन्नुभयो, “कोही कसैले निर्वाचन आचारसंहिता उलङ्घन गरेको खण्डमा अनुगमन अधिकृतहरुले कारबाही गर्नुहुन्छ । निर्वाचन आयोगले जिल्ला अनुगमन समितिलाई दिएको क्षेत्राधिकारभन्दा बाहिरका अर्थात् ठूला घटना भएको खण्डमा माथिल्लो निकायमा सिफारिस गरिन्छ ।”

अनुगमन अधिकृतले जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेटलगायत लगाए÷नलगाएको, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार पोस्टर, भित्तेलेखन, तुल, डिजिटल डिस्प्लेको प्रयोग भए÷नभएको विषय अनुगमन गर्नेछन् । निर्वाचन आचारसंहिताअनुसार सवारी साधनको प्रयोग भए÷नभएको, घोषणापत्र सार्वजनिक गरे÷नगरेको, निर्वाचन प्रचार प्रसारका लागि सरकारी, सार्वजनिक निकाय, गैर–सरकारी संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग लिए÷नलिएको, निर्वाचन खर्चका लागि बैङ्क तथा वित्तीय संस्थामा छुट्टै खाता खोल्ने तथा खर्च गर्ने पदाधिकारी तोकी खर्च गर्ने व्यवस्था गरे÷नगरेको लगायतका विषयमा अनुगमन गर्नेछन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आयोगले गत माघ–४ गतेदेखि निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनमा ल्याइसकेको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जना नेता उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन् ।

नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा. हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

दश स्थानीय तह रहेको जिल्लाबाट डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । अघिल्लो निर्वाचनको समानुपातिक मत परिणमलाई आधार मानेर हेर्दा यो निवर्माणमा पनि पूरानै तीन राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

आगामी निर्वाचनका लागि खोटाङमा १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले दिनुभएको जानकारी अनुसार आगामी निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया