खोटाङ, १४ माघ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङका १५ जना नेता चुनावी प्रतिस्पर्धामा होमिएका छन् । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ जना नेताहरु उम्मेदवारी दर्ता गरेर आफ्नो जित सुनिश्चितताका लागि मतदाता रिझाउन जनताको घरदैलो अभियानमा खटिएका छन् ।
वि.सं. २०७९ सालको चुनावको मतपरिणाम हेर्दा खोटाङमा पुरानै तीन राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नयाँ राजनीतिक दलका उम्मेदवारले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएपनि जिल्लाको वर्तमान अवस्था त्यस्तो नरहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
अघिल्लो निर्वाचनमा नेपाली काँग्रेससँगको बाम–लोकतान्त्रिक गठबन्धनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ निर्वाचित हुनुभएको थियो । विभिन्न पार्टी एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका नेता पासाङले ३१ हजार ३५१ मत ल्याएर विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विशाल भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको थियो ।
प्रदेश तथा प्रतिनिधिसभा एकैपटक भएको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का डा. कृष्णकुमार राई ‘केके’ले एक हजार ९१४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठले एक हजार ७६१ मत प्राप्त गर्नुभएको थियो । जिल्लामा प्रत्यक्षतर्फको उम्मेदवार गठबन्धनका कारण भट्टराई पराजित हुनुभएपनि समानुपातिकतर्फ सबैभन्दा धेरै मत एमालेले प्राप्त गरेको थियो ।
एमालेको २४ हजार २७१, काँग्रेसको १८ हजार ६७२, माओवादी केन्द्रको ११ हजार ८४५, एकीकृत समाजवादीको तीन हजार ३६३, जसपा नेपालको दुई हजार २४८, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक हजार २५५ मत आएको थियो । तत्कालीन अवस्थामा जिल्लामा सङ्गठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा समानुपातिकमा एक हजार ४९७ मत खसेको थियो ।
वि.सं. २०७९ सालको निर्वाचनलाई हेर्दा खोटाङमा एमालेको अवस्था बलियो देखिएको छ तर, यस पटकको अवस्था पहिलेजस्तो नरहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । श्रम संस्कृति पार्टी लगायत अन्य नयाँ राजनीतिक दलले जिल्लामा पछिल्लो समय सङ्गठन विस्तार गरेका छन् ।
वि.सं. २०५६ सालदेखि लगातार चुनावमा उठ्दै आउनुभएका एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका भट्टराई यस पटक पछि हट्नुभएको छ । एमालेले जिल्ला अध्यक्ष देवबिक्रम राईलाई उम्मेदवार बनाएको छ ।
अघिल्लो पटकको चुनावमा एमालेले ल्याएको मतका आधारमा यस पटक पार्टीको जित निश्चित हुने एमालेजनको आँकलन रहेको छ । माओवादी केन्द्रसँगको गठबन्धनका कारण आफ्नो उम्मेदवार उठाउन नपाएको काँग्रेसले यस पटक महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई उम्मेदवार बनाएको छ ।
गुटगत राजनीतिले ग्रसित काँग्रेस यस पटकको चुनावमा भने, एक ठाउँमा उभिएर महाधिवेशन प्रतिनिधि राईको उम्मेदवारीलाई सबैले स्वीकारेको देखिन्छ । आगामी निर्वाचनमा एक ठाउँमा उभिएर चुनावी अभियानमा होमिँदा जित निकाल्न सकिने काँग्रेसका नेताहरुले दाबी गर्दै आएका छन् ।
बाम राजनीतिक तथा अर्थ विश्लेषक डा. हरि रोकालाई उम्मेदवार बनाएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि आफ्नो पक्षमा जित निकाल्न उत्साहित भएर घरदैलो अभियानमा जुटेका देखिएको छ । साङ्गाठानिक रूपले एमाले र काँग्रेसभन्दा केही कमजोर भए पनि उम्मेदवारको क्षमताको आधार तथा छ जना पूर्वसांसदको साथ रहेकाले जित आफूहरूको पक्षमा हुने नेकपाका नेताहरुले बताएका छन् ।
प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नं. १ (क)मा एमालेका पाँचकर्ण राई ‘पिके’ र क्षेत्र नं. २ (ख)मा काँग्रेसका भूपेन्द्र राई प्रदेशसभा सदस्य हुनुहुन्छ । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा धेरै काँग्रेसका जनप्रतिनिधि छन् ।
दुई नगरपालिका प्रमुख, चार गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख, तीन गाउँपालिका उपप्रमुख र ३२ वडाध्यक्ष काँग्रेसका छन् । समन्वय समिति प्रमुख र उपप्रमुखसहित दुई गाउँपालिका प्रमुख, एक नगरपालिका उपप्रमुख, दुई गाउँपालिका उपप्रमुख र २५ वडाध्यक्ष नेकपाका छन् ।
जसपा नेपालका एक गाउँपालिका उपप्रमुख र दुई वडाध्यक्ष रहेका छन् । उनासी वडा रहेको जिल्लामा एक वडाध्यक्ष भने, काँग्रेसका बागी उम्मेदवारले जितेका छन् ।
पहिलो पटक जिल्लामा सङ्गठन विस्तार गरेर निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी र भर्खर दर्ता भएर चुनावमा होकिएको श्रम संस्कृति पार्टी तथा राष्ट्रिय परिवर्तन पार्टीले पनि पूराना राजनीतिक दललाई चुनौती दिएका छन् । देशको बदलिँदो राजनीति र युवाको समर्थन रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीले खोटाङमा राम्रै मत ल्याउने आकलन गरिएको छ ।
रास्वपाबाट रुद्र गिरी र श्रम संस्कृति पार्टीबाट आरेन राईले उम्मेदवारी दिनुभएको छ । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङको जन्मस्थल पनि खोटाङ नै भएकाले राम्रै मत ल्याउने आकलन गरिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
जेनजी युवाले दर्ता गराएका राष्ट्रिय परिवर्तन पार्टीले पनि जिल्लाबाट २५ वर्षीय मिरेश राईलाई उम्मेदवार बनाएको छ । हलेसी चुवाचुङ नगरपालिका मिरेश कुलमान घिसिङ केन्द्रीय अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीको पनि साझा उम्मेदवार रहेकाले उहाँको पक्षमा पनि राम्रै मत आउने आकलन गरिएको छ ।
अघिल्लो निर्वाचनमा तेस्रो भएको जसपा नेपाल अहिले दुई धारमा छ । तत्कालीन निर्वाचनका उम्मेदवार डा. केकेले अहिले पार्टी छाडिसक्नुभएको छ । विभाजन भएको जसपाबाट राकेश राई र जसपा नेपालबाट सुनिल चाम्लिङ उम्मेदवारी दिनुभएको छ ।
अघिल्लो निर्वाचनमा जिल्लामा चौथो भएको राप्रपाले अहिले दीपक तामाङलाई उम्मेदवार बनाएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रयाग राई, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ तथा स्वतन्त्र उम्मेदवारका रूपमा डा. राजकुमार राई र तीलकचन्द्र राई रहनुभएको छ ।
आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले दिनुभएको जानकारी अनुसार आगामी निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।


