तीनपटक आवेदन आव्हान गरेर पु¥याइयो खोटाङका लागि आवश्यक निर्वाचन प्रहरी

Halesi Khabar

खोटाङ, १३ माघ । आगामी फागुन–२१ गते हुने निर्वाचनका लागि खोटाङमा माग गरिएअसुसार निर्वाचन प्रहरी छानिएको छ । निर्वाचन प्रहरीका लागि आवेदन दिएका व्यक्तिको प्रारम्भिक परीक्षण, शारीरिक परीक्षण, लिखित र अन्तरवार्ता परीक्षा पश्चात माघ–१२ गतेको निर्णयअनुसार मङ्गलबार अन्तिम नतिजा प्रकाशन गरिएको हो ।

जिल्लाका लागि आवश्यक माग सङ्ख्याअनुसार एक हजार २८२ जना निर्वाचन प्रहरी छनोट हुँदा २०५ जना वैकल्पिकमा राखिएको निर्वाचन प्रहरी भर्ना छनोट उपसमिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिनुभएको छ । निर्वाचन प्रहरीका लागि माग गरिएभन्दा कम युवाको आवेदन परेपछि माघ–९ गते पुनः तेस्रो पटक आवेदन खुलाइएको थियो ।

यही माघ–१० र ११ गते अन्तिमपटक आव्हान गरिएको आदेवनमा फाराम भर्नेको सङ्ख्या बढेपछि सबै परीक्षा पश्चात अन्तिममा २०५ जनालाई वैकल्पिकमा राखेर नतिजा प्रकाशन गरिएको जनाइएको छ । सुरुमा दरखास्त दिनका लागि गत पुस–२५ देखि माघ–१ गतेसम्मका लागि समय तोकिएको थियो ।

मागअनुसार आवेदन नआएपछि दोस्रोपटक माघ–३ गतेसम्म लम्ब्याउँदा फाराम भर्नेको सङ्ख्या जम्मा एक हजार १७३ जनाको मात्रै भएको निर्वाचन प्रहरी भर्ना छनोट उपसमिति सदस्य, निर्वाचन सेल प्रमुख एवम् जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक विष्टकाअनुसार आवेदन फाराम भर्नेमध्ये पनि केही व्यक्तिहरु परीक्षामा उपस्थित भएका थिएनन् ।

आवेदन भरेका केही व्यक्ति लिखित परीक्षामा अनुत्तिर्ण भएको छनोट समितिले जनाएको छ । छनोट समितिले माघ–९ गते प्रकाशन गरेको लिखित परीक्षामा एक हजार ३९ जनामात्र उत्तिर्ण भएका थिए ।

जिल्लाका लागि माग गरिएअनुसार निर्वाचन प्रहरी अपुग हुने भएपछि पुनः माघ–९ गते आदेवन खुलाइएको थियो । तेस्रोपटक आवेदन आव्हान गर्दा ५५० जनाले फाराम भरेकोमा २४३ जना छनोट गरिएको जनाइएको छ ।

निर्वाचन प्रहरीमा छनोट भएकाहरुलाई यही माघ–१५ गते सम्पर्कमा बोलाइएको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभएको छ । छनोटमा परेका व्यक्तिहरुलाई उनीहरुको घर पायक पर्ने इलाका प्रहरी कार्यालयहरुमा पठाएर तालिम दिइने जनाइएको छ ।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १५ जना नेताले उम्मेदवारी दर्ता गराएका छन् । दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता भएको जिल्लामा नेताहरु आफ्नो पक्षमा जित निकाल्न मतदाताको घरदैलो अभियानका जुटेका छन् ।

वि.सं. २०७९ सालको चुनावको मतपरिणाम हेर्दा खोटाङमा पुरानै तीन राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेससँगको बाम–लोकतान्त्रिक गठबन्धनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ निर्वाचित हुनुभएको थियो ।

निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । आगामी निर्वाचनमा खोटाङका एक लाख ४७ हजार १२० जना मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले दिनुभएको जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया