खोटाङ, १३ माघ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका अधिवक्ता चण्डीराज राईले तीनवटा सामुदायिक विद्यालयका ९४ जना विद्यार्थीलाई न्यानो कपडा (ट्र्याक सुट) उपलब्ध गराउनुभएको छ । दिप्लुङस्थित छुप्लुङमा जन्मिएर हाल बेलायत (युके)मा कानून व्यवसाय गर्दै आउनुभएका अधिवक्ता राईले स्वर्गीय आमा आनन्दीमायाँ राईको स्मृतिमा आफ्नो गाउँमा सञ्चालित तीनवटा सामुदायिक विद्यालयमा अध्ययतरत विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउनुभएको हो ।
अधिवक्ता राईले उपलब्ध गराउनुभएको न्यानो कपडा दिप्लुङस्थित भानु आधारभूत विद्यालय हलहलेका ६० जना, पृथ्वी आधारभूत विद्यालय बाबलका २१ जना र सिद्धेवरी आधारभूत विद्यालय केराकारीका १३ जना वितरण गरिएको स्थानीय जगत किराती राईले जानकारी दिनुभएको छ । “जाडो याम सुरु भएको छ । सबै विद्यार्थीका लागि आफ्ना अभिभावकले न्यानो कपडा किनेर लगाइदिनसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “विद्यार्थीको समस्यालाई मध्येनजर गर्दै बेलायतमा रहनुभएका समाजसेवी चण्डीराज राईलाई अनुरोध ग¥यौँ । उहाँले पनि आफ्नो आमाको स्मृतिमा सामाजिक काम गर्ने मनसाय व्यक्त गर्नुभएपछि ९४ जना विद्यार्थीका लागि न्यानो कपडा खरिद गरेर वितरण गरेका हौँ ।”
महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिसमेत रहनुभएका अधिवक्ता राईले आफ्नो स्व. आमाको स्मृतिमा अक्षयकोषसमेत स्थापना गर्ने वचन दिनुभएको जनाइएको छ । अधिवक्ता राईले बेलायतबाट पठाउनुभएको रकमले काठमाडौँमा ट्र्याक सुट खरिद गरेर ल्याएपछि अभिभावकहरुको उपस्थितिमा विद्यार्थीलाई वितरण गरिएको स्थानीयवासी एवम् पृथ्वी आधारभूत विद्यालय बाबलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबल किरातीले जानकारी दिनुभएको छ ।
देशभर बढेको जाडोको समयमा जन्तेढुङ्गा गाउँपालिकाका तीनवटा सामाुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अधिवक्ता राईले उपलब्ध गराउनुभएको न्यानो कपडा निःशुल्क पाएपछि हर्षित भएका छन् । अधिवक्ता राईले विद्यार्थीका लागि एउटै रङ र गुणस्तरका न्यानो कपडा उपलब्ध गराउनुभएपछि विद्यार्थीमा एकरुपतासमेत आएको विद्यालय प्रशासनले जनाएको छ ।


