खोटाङ, १२ माघ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ जना महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा पाठेघर खस्ने समस्या पहिचान भएका २२ जना महिलामध्ये पहिलो चरणमा १८ जनालाई गाडी रिजर्भ गरेर शिर मेमोरियल अस्पताल बनेपा लगिएकामा १३ जनाको सफल शल्यक्रिया भएको हो ।
अस्पताल जाने÷आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी पाठेघर खसेका महिलालाई निःशुल्क उपचार गराउन सुविधायुक्त अस्पताल लगिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभएको छ । “पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई मात्र अस्पताल लगिएको थियो । अस्पताल लगिएकामध्ये १३ जना महिलाको सफल शल्यक्रिया भएको छ” उहाँले भन्नुभयो, “चार जनाले अस्पताल जान अस्वीकार गरेका छन् । अस्पताल लगिएकामध्ये दुई जनालाई रिङप्रेसरी राखेर पठाएको छ । तीन जनालाई पुनः बोलाएको छ ।”
निःशुल्क उपचार गर्ने व्यवस्थासहित गाडी रिजर्भ गरेर बिरामी महिला र उनीहरुका एक÷एक जना कुरुवालाई नगरपालिकाले बनेपा पु¥याएको थियो । अस्पताल लगिएकामध्ये दुई जनामा प्रेसर र एक जना महिलामा सुगरका कारण तत्काल शल्यक्रिया गर्न नमिल्ने भएपछि पुनः अस्पतालले बोलाएको नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत अहेव विवेक पराजुलीले जानकारी दिनुभएको छ ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो हलेसी तुवाचुङ नगरपालिकामा पाठेघर खस्ने समस्या भएका महिलामध्ये अधिकांश वृद्धावस्थाका रहेका छन् । एघार वडा रहेको यो नगरपालिकाले गत वर्ष ४१ जना महिलाको शल्यक्रिया गराएको थियो ।
जाज, डर र अज्ञानताका कारण पाठेघरमा भएको समस्या बाहिर ल्याउन नरुचाउने महिलाहरु पछिल्लो समय खुलेर उपचार गराउन थालेका छन् । जिल्लाका विभिन्न स्थानीय तहले अहिले पाठेघरको समस्या भएका महिलाको उपचार गराइरहेका छन् ।
यता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघरमा समस्या देखिएका ३६ जना महिलामध्ये १८ जनालाई माघ–८ गते गाडीमार्फत सोही अस्पताल लगेको छ । बाँकी रहेका १८ जनालाई केही दिन भित्र लगिने स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिनुभएको छ ।
करिब तीन वर्ष अगाडि स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको उपचारका लागि शिविर सञ्चालन गर्दा खासै महिला आउँदैन थिए । तर, अहिले सबै महिला पाठेघरको परीक्षणमा खुलेर आउन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको सहयोगमा खोटाङका दशवटै स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको निःशुल्क शल्यक्रियासहितको उपचार गराइरहेका छन् । पाठेघर खसेको पहिलो र दोस्रो चरणसम्मका समस्या भएका महिलाको वडा वडामै उपचार गर्ने गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
तेश्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई बनेपास्थित शीर मेमोरियल अस्पताल बनेपा लगेर उपचार गराउने गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाले गत पुसमा प्रजनन रुग्णता शिविर सञ्चालन गरेका थिए ।
शिविरमा करिब एक हजार २०० बढी महिलाले पाठेघर परीक्षण गरेका छन् । यस्तै, रावाबेँसी गाउँपालिकाको शिविरमा शल्यक्रिया गर्नुपर्ने २१ जना महिला भेटिएको र उनीहरुलाई पनि चाँडै सोही अस्पतालमा लगेर उपचार गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख कौशल अधिकारीले जानकारी दिनुभएको छ ।
यसअघि दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र जन्तेढुङ्गा गाउँपालिकाले शीर मेमोरियल अस्पताल बनेपा लगेर पाठेघरको समस्या भएका महिलाको उपचार गराउँदै आएका छन् । केही वर्ष अघिसम्म जिल्लाका महिलाहरु पाठेघरको समस्या भए पनि समाजको अगाडि लाज, डर र अज्ञानताले महिला रोग लुकाएर बस्ने गरेका थिए ।
समस्या देखिएका महिला उपचारको लागि लाज नमानी अघि आउन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । पाठेघर सम्बन्धी बिरामी महिलासहित कुरुवाको लागि अस्पतालसम्म आवतजावत, खाना तथा बस्नका लागि स्थानीय तहले निःशुल्क व्यवस्थापन गर्दै आएका छन् ।


