खोटाङ, ९ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, हलेसी खोटाङले आफ्नो गुल्म स्थापनाका लागि निःशुल्क जग्गा दिने १७ जना जग्गादातको नाम शिलालेखमा राखेको छ । सशस्त्र प्रहरीको २५ औँ स्थापना दिवसको अवसर पारेर नं. ७ गुल्म हलेसी खोटाङले करोडौँ मूल्यको ४३ रोपनी चार आना दुई पैसा एक दाम जग्गा निःशुल्क दिने जग्गादाताको नाम शिलालेखमा राखेको हो ।
वि.सं. २०६७ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र ५ लफ्याङको सीमानामा पर्ने मझुवागढीमा स्थापना गरिएको गुल्मका लागि सबैभन्दा बढी सावित्रा विष्टले सात रोपनी दुई पैसा एक दाम जग्गा निःशुल्क दिनुभएको छ । यस्तै, खड्गबहादुर कटवालले पाँच रोपनी दुई पैसा तीन दाम, भूपराज कटवालले पाँच रोपनी तीन दाम, भीमबहादुर कटवालले तीन रोपनी ११ आना दुई दाम, गोविन्दबहादुर कटवाल (क)ले तीन रोपनी पाँच आना दुई दाम, सीताराम कटवालले तीन रोपनी दुई आना तीन दाम, धनमायाँ कटवालले दुई रोपनी दश आना एक पैसा तीन दाम, छत्रबहादुर कटवालले दुई रोपनी दश आना, भक्तबहहादुर कटवालले दुई रोपनी जग्गा दिनुभएको छ ।
यसैगरी, पुष्पबहादुर कटवालले दुई रोपनी, ध्रुबलाल कटवालले एक रोपनी एक आना दुई पैसा एक दाम, केशरबहादुर कटवालले एक रोपनी एक आना दुई पैसा एक दाम, ललितबहादुर कटवालले एक रोपनी दुई पैसा तीन दाम, चंखबहादुर कटवालले एक रोपनी, कृष्णबहादुर कटवालले १४ आना दुई दाम, खेमबहादुर कटवालले १३ आना दुई पैसा र बर्तकुमारी राजबंशीले १२ आना एक पैसा जग्गा निःशुल्क दिनुभएको थियो । सशस्त्र प्रहरी बलको गुल्मलाई निःशुल्क जग्गा दिनुहुने सबै जग्गादाताको सम्मानका लागि शिलालेख निर्माण गरेर औपचारिक रुपमा अनावरण गरिएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।
जग्गादाताहरुको नाम समावेश गरेर निर्माण गरिएको शिलालेखमा गुल्म स्थापना गर्नका लागि सहयोग गर्ने २५ जना सहयोगीहरुको नामसमेत उल्लेख गरिएको छ । गुल्म स्थापनाका लागि विशेष पहल गर्ने संविधानसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विशाल भट्टराई, पूर्वजिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, वरिष्ठ अधिवक्ता देवराज कटवाल लगायतका व्यक्तिहरुको नाम सहयोगीको रुपमा राखेर सम्मान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले आफ्नो २५ औँ स्थापना दिवसको अवसर पारेर यसअघि जिल्लाका ३५ जना जेष्ठ नागरिकलाई न्यानो टोपी वितरण गर्दै सम्मान गरेको थियो । सशस्त्र प्रहरीले जाडो मौसमलाई मध्यनजर गर्दै ७० वर्षमाथिका ३५ जना जेष्ठ नागरिकलाई जाडोमा प्रयोग हुने न्यानो टोपी प्रदान गर्दै सम्मान गरेको हो ।
समाजमा जेष्ठ नागरिकप्रति सम्मान, सहकार्य र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले सम्मान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । जेष्ठ नागरिकहरु समाजका मार्गदर्शक तथा अनुभवी व्यक्तित्व भएकाले उनीहरूको स्वास्थ्य, सुरक्षा र सम्मानप्रति सशस्त्र प्रहरी बल सदैव संवेदनशील र प्रतिबद्ध रहेको गुल्मपति न्यौपानेले बताउनुभएको छ ।
सशस्त्र प्रहरीले गत पुस–१६ गते जिल्ला अस्पताल खोटाङमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुका साथै पर्यटकीयस्थल मझुवागढीमा फलामे फलैंचा निर्माण गरिदिएको छ । महिना दिनसम्मा मनाइएको दिवस समापनको अवसर पारेर उत्कृष्ट काम गर्ने पदिक तथा कर्मचारीहरुलाई पुरस्कृतसमेत गरिएको जनाइएको छ ।


