नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा खोटाङका २३ नेता केन्द्रीय सदस्यमा चयन

Halesi Khabar

खोटाङ, २९ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा खोटाङका २३ जना नेता केन्द्रीय सदस्यमा नियुक्त भएका छन् । साविक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट १२, जनता समाजवादी पार्टी (जसपा)बाट तीन तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेर नेकपा प्रवेश गर्नुभएका कमल ढकाल केन्द्रीय सदस्यमा नियुक्त हुनुभएको हो ।

माओवादी केन्द्रबाट टंक राई, रामकुमार राई ‘पासाङ’, समिता कार्की ‘अस्मिता’, दुर्गाजयन्ती राई, अमेम्बर राई, ध्रुब बुढाथोकी ‘धिरेन’ र देवान किराती ‘पृथ्वी’ केन्द्रीय सदस्य चयन हुनुभएको छ । माओवादी केन्द्रबाट केन्द्रीय सदस्य चयन हुनुभएका टंक राई यसअघि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पासाङ, अस्मिता, दुर्गाजयन्ती र धिरेन केन्द्रीय सदस्य र पृथ्वी प्रदेश उपाध्यक्ष हुनुहुन्थयो ।

यस्तै, साविक नेकपा (एकीकृत समाजवादी)बाट राजन राई, वीरबलकाजी राई, कुलप्रसाद फुयाँल, भीम राई, रमिला गुरुङ, श्यामराज राई, तारानाथ दाहाल, जलसेर राई, अर्जुनभक्त राई, बज्रकुमार राई, मनिषा राई र तेज राई केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । विभिन्न पार्टीबीच एकीकरण भएपछि बनेको नेकपाको केन्द्रीय सदस्य हुनेमा सबैभन्दा बढी नेकपा (एकीकृत समाजवादी)बाट १२ जना रहनुभएको छ ।

साविक जसपाबाट सनबहादुर राई, देवराज राई र तेजमायाँ राई केन्द्रीय समिति सदस्य चयन हुनुभएको छ । जसपाबाट केन्द्रीय सदस्य चयन हुनुभएका तीनै जना नेताहरु इसअघि पनि केन्द्रीय सदस्यमै रहनुभएको थियो ।

यस्तै, एमालेबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएका कमल ढकाल पनि केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । एमाले खोटाङको पूर्व जिल्ला सचिवालय सदस्य रहनुभएका ढकाल पार्टीको आठौँ जिल्ला अधिवेशनमा उपसचिव पराजित हुनुभएपछि निष्क्रिय रहनुभएको थियो ।

जिल्लाबाट केन्द्रीय सदस्य नियुक्त हुनुभएका नेताहरुसहित देशभरका नेताहरुले मङ्गलबार एकैसाथ शपथ ग्रहण गर्नुभएको छ । राजधानी काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीका ज्येष्ठ सदस्य एनके प्रसाईंले केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउनुभएको हो ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न राजनीतिक दल मिलेर बनेको नेकपाले दुई हजार ४९९ केन्द्रीय सदस्य बनाइएको छ । पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित नभएका देशभरका केन्द्रीय सदस्यहरुले भर्चुअल माध्यमबाट शपथ ग्रहण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया