खोटाङ, २५ पुस । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले नेपालमा समाजवादी कार्यक्रम लागू गर्न नेपालका सबै कम्युनिष्ट पार्टीहरुबीच एकता गरिएको बताउनुभएको छ । खोटाङको खोटेहाङ गाउँपालिका पार्टी समितिले शुक्रबार वाप्लुखामा आयोजना गरेको पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्नुहुँदै नेकपाका नेता राईले यस्तो जानकारी दिनुभएको हो ।
कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका नेता राईले सामाजिक, आर्थिक, लैङ्गिक, क्षेत्रीय तथा जातीय असमानता जस्ता विभिन्न प्रकारका समस्याहरुलाई समाजवादी नीतिले मात्रै सम्बोधन गर्न सकिने बताउनुभएको छ । पुँजीवादी व्यवस्थाका कारण सामाजिक न्याय र असमानता बढेको भन्नुहुँदै नेता राईले समाजवादी कार्यक्रम लागू गराउन पछिल्लो समय आफूहरुले नेपालका सबै कम्युनिष्ट पार्टीहरुबीच एकता गर्दै अगाडि बढेको जानकारी दिनुभएको छ ।
खोटेहाङ गाँउपालिका–२ वाप्लुखामा आयोजित सन्देशसभालाई सम्बोधन गर्नुहुँदै नेता राईले नेपालमा राम्रा सडक, एयरपोर्ट, अस्पताल, स्कूल लगातका भौतिक संरचना बने पनि सबैले समान ढङ्गले उपयोग गर्न नपाउने अवस्था अझै कायम रहेको बताउनुभएको छ । विद्यमान समाजमा सबै कुराहरुको समान ढङ्गबाट उपभोग गर्नका लागि समाजवादी नीति कार्यान्वयन आवश्यक रहेको नेता राईको दाबी छ ।
नेता राईले नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्ध हुँदै समाजवादी क्रान्ति सफल बनाउ सबै लागिपर्नुपर्नेमा जोड दिनुभएको छ । एकता सन्देशसभालाई पूर्व सांसद एवम् नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कुलप्रसाद फुयाँल, सदस्य सनबहादुर राई, प्रदेश उपाध्यक्ष देवान किराँती ‘पृथ्वी’, प्रदेस सचिवालय सदस्य दीपक पाण्डे ‘आकाश’, खोटेहाङ गाँउपालिका प्रमुख एवम् पार्टीका प्रदेश सचिवालय सदस्य उदिमबहादुर राई ‘मुक्ति’, जन्तेढुङ्गा गाउँपालिका प्रमुख एवम् पार्टीका सचिवालय सदस्य अरुणादेवी राई ‘दीक्षा’, अनेरास्ववियुका केन्द्रीय उप–महासचिव एवम् प्रदेश अध्यक्ष शुम्भु घिमिरे लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
एकता सन्देशसभाकै अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका पूर्व जिल्ला सदस्य कृष्णकुमार राई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । एमालेमा असल र राम्रा काम गर्ने नेता तथा कार्यकर्ताहरुलाई सँधै निरुत्साहित गर्ने प्रचलन रहेको भन्नुहुँदै उहाँले आफू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताउनुभएको छ ।
नेकपा प्रवेश गर्नुभएका पूर्व जिल्ला सदस्य कृष्णकुमारलाई प्रमुख अतिथि नेता राई लगायतले अबिर लगाएर स्वागत गर्नुभएको छ । केन्द्रमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहितका कम्युनिष्ट पार्टीहरुबीच एकता भएपछि खोटाङमा पनि दशवटै स्थानीय तहमा एकता सन्देशसभा आयोजना गरिएको छ ।


