पत्रकार तथा पत्रकारिता पेसामाथि आक्रमण गर्नेविरुद्ध कानूनी उपचार खोजिने

Halesi Khabar

खोटाङ, २२ पुस । नेपाल पत्रकार महासङ्घ खोटाङले पत्रकार तथा पत्रकारिता पेसामाथि सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरेको छ । पत्रकार महासङ्घको मङ्गलबार दिक्तेलमा बसेको बैठकले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले जिल्लामा क्रियाशील पत्रकार तथा पत्रकारिता पेसाको अपमान गर्दै आक्रमण गरेकाले उनीहरुलाई कानूनी दायरामा ल्याउने निर्णय गरेको हो ।

पछिल्लो समय जिल्लामा क्रियाशील पत्रकार तथा पत्रकारिता पेसालाई कमजोर बनाउने उद्देश्यसहित सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण गर्ने प्रवृत्ति भएका व्यक्तिहरु बढेकाले त्यसलाई निरुत्साहित गर्न कानूनी कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको पत्रकार महासङ्घका अध्यक्ष हरिबोल आचार्यले बताउनुभयो । “संविधानले हरेक नागरिकलाई वाक स्वतन्त्रता (बोल्न पाउने अधिकार) दिएको छ । तर, मनपरी बोल्ने छुट कसैलाई दिएको छैन”, उहाँले भन्नुभयो, “पत्रकारिता पेसा मर्यादित पेसा हो । आफ्नो पेसाप्रति हामी पत्रकारहरु संवेदनशील भएर नागरिकको पक्षमा कमल चलाइरहेका छौँ । सत्य, तथ्य र प्रमाणको आधारमा समाचार सम्पे्रशन गर्दा हामी पत्रकारहरुमाथि आक्रमण हुनु निन्दनीय विषय हो । यसको कानूनी उपचार पत्रकार महासङ्घ खोज्छ । यसका लागि पत्रकार महासङ्घको पूर्ण बैठकबाटै निर्णय गरेका छौँ ।”

पत्रकार तथा पत्रकारिता पेसामाथि आक्रमण गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको विवरण सङ्कलन गरेर चाँडै कानूनी कारबाहीको दायरामा ल्याउनका लागि जिम्मेवारीसमेत तोकिएको जनाइएको छ । पत्रकार महासङ्घले जिल्लामा क्रियाशील पत्रकारहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताको पछाडि नलागी आफ्नो पेसाप्रति निर्धक्क भएर नागरिकको पक्षमा निरन्तर कमल चलाउन आग्रहसमेत गरेको छ ।

पत्रकार तथा पत्रकारिता पेसामाथि आक्रमण गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई प्रमाणको आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको मुद्धा दर्ता गर्ने तयारी गरिएको पत्रकार महासङ्घका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिनुभएको छ । विद्युतीय कारोबार ऐन अन्तरगतको मुद्धामा दोषी ठहरिएको खण्डमा तीन वर्षसम्म कैद सजाय तथा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

पत्रकार महासङ्घको बैठकले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउन आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने÷गराउनेसमेत निर्णय गरेको छ । पत्रकार महासङ्घको दिक्तेलस्थित कार्यालयमा बसेको बैठकमा पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्षहरु डम्बरसिं राई र दमन राई, निवर्तमान अध्यक्ष दिलीप खत्री, जिल्लास्थित पेसागत सङ्घ÷सङ्गठनका प्रमुख तथा प्रतिनिधि र विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको सहभागिता थियो ।

यसैबीच, नेपाल पत्रकार महासङ्घ खोटाङको टोलीले मङ्गलबार नै प्रमुख जिल्ला अधिकारी रेखा कँडेलसँग समेत भेटवार्ता गरेको छ । भर्खरै सरुवा भएर जिल्ला प्रशासन कार्यालय खोटाङ आउनुभएका प्रजिअ कँडेलसँगको भेटमा जिल्लाका समसामयिक विषयमा छलफल गरेका छन् ।

भेटवार्तामा सहभागी पत्रकारहरुले जिल्लामा सुशासन कायम गराउन पत्रकारहरुले उठाएका विषयमा गम्भीर हुन प्रजिअ कँडेललाई ध्यानाकार्षण गराएका छन् । पत्रकारहरुले राखेका सवालका विषयमा जवाफ दिनुहुँदै प्रजिअ कँडेलले पत्रकारहरुको सुरक्षा तथा जिल्लामा सुशासन कायम गर्न आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया