खोटाङ, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दश जना नेताको नाम सिफारिस गरेको छ । एमाले सचिवालय समितिको सोमबार दिक्तेलमा बसेको बैठकले केन्द्रीय सदस्य एवम् पूर्व सांसद् विशाल भटराई, कोशी प्रदेश समितिका उप–सचिव देवान राई, जिल्ला अध्यक्ष देवबिक्रम राई, पूर्व केन्द्रीय सदस्यहरु खगेन्द्र राई र रमेश पौडेल, प्रदेशसभा सदस्य एवम् कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’, पूर्व जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, प्रदेश लेखा आयोग समितिका सचिव ओमप्रकाश घिमिरे, जिल्ला सचिवालय सदस्य धनकुमारी श्रेष्ठ र जेनजी समूहबाट अखिलका केन्द्रीय सदस्य विष्णु उपरकोटीलाई उम्मेदवार सिफारिस गरेको हो ।
जिल्लाबाट सिफारिस हुने नेताहरुको नामावली आज (सोमबार) नै कोशी प्रदेश समितिमा पठाइएको जिल्ला अध्यक्ष देवबिक्रम राईले जानकारी दिनुभएको छ । दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा बसेको एमाले सचिवालय समितिको बैठकमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि आकांक्षीहरु धेरै भएपछि सबै जना नेताको नाम सर्वसहमत निर्णय गरेर प्रदेश समितिमा पठाइएको एमालेले जनाएको छ ।
एमाले खोटाङले समानुपातिक उम्मेदवारका लागि यसअघि नै उषाकला राई, खगेन्द्र राई र कर्ण घलेको नाम सिफारिस गरेको थियो । जिल्लाबाट सर्वसहमत सिफारिस भएका नेताहरुमध्ये उषाकलाको नाम केन्द्रीय समितिको बन्द सूचीमा समावेश भएर निर्वाचन आयोगमा पेश भइसकेको छ ।
प्रत्यक्षतर्फ एक नम्बरमा सिफारिस हुनुभएका भट्टराई वि.सं. २०७० मा भएको संविधानसभा सदस्यको निर्वाचनमा खोटाङ क्षेत्र नम्बर–२ बाट निर्वाचित हुनुभएको थियो । वि.सं. २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका भट्टराईले एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हाली सक्नुभएको छ ।
वि.सं. २०७९ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने, वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता रामकुमार राई ‘पासाङ’सँग पराजित हुनुभएको थियो । केन्द्रमा प्रतिनिधिसभा पुनः स्थापनाको माग गरिरहेको एमालेले आगामी निर्वाचनका लागि उम्मेदवारसमेत छनोट गर्न थालेपछि तोकिएकै मितिमा निर्वाचन हुने सङ्केत देखिएको छ ।
जिल्लामा क्रियाशील तीन ठूला राजनीतिक दलमध्ये नेपाली काँग्रेस खोटाङले भने, अझै पनि उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छैन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले यसअघि नै सात जना नेताको नाम छनोट गरेर केन्द्रीय समितिमा सिफारिस गरिसकेको छ ।


