फागुन–२१ गते हुने निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम

Halesi Khabar

खोटाङ, २१ पुस । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । दश स्थानीय तह रहेको खोटाङमा पुरुष ७७ हजार ६५६ जना तथा महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन् ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३५ हजार ७६० जना मतदाता कायम भएका छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा २१ हजार ९२८, खोटेहाङ गाउँपालिकामा १५ हजार १७, जन्तेढुङ्गा गाउँपालिकामा दश हजार २३९, ऐसेलुखर्क गाउँपालिकामा ११ हजार ८८३, केपिलासगढी गाउँपालिकामा दश हजार ९७८, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ हजार ५८६, बराहपोखरी गाउँपालिकामा नौँ हजार ३५४, रावाबेँसी गाउँपालिकामा नौँ हजार ७३० तथा साकेला गाउँपालिकामा आठ हजार ६४५ मतदाता कायम भएका छन् ।

जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४२९ जना मतदातामध्ये ८१० जना मतदाताले अन्तर जिल्ला मतदान केन्द्र कायम गरेको जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकारी रविन मगरले जानकारी दिनुभएको छ । निर्वाचन अधिकारी मगरका अनुसार नयाँ मतदाता नामावली दर्ता गर्ने तथा पूराना मतदाताको अद्यावधिक गर्दा जिल्लामा यसअघि कायम भएका मतदातामा थप एक हजार ८८१ जना नयाँ मतदाता थपिएको जनाइएको छ ।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी फागुन–२१ गते हुने निर्वाचनका लागि १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी निर्वाचनका लागि नेपाल सरकारले मुख्य निर्वाचन अधिकृतसमेत खटाइसकेको छ ।

वि.सं. २०७९ सालको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ निर्वाचित हुनुभएको जिल्लामा पूरानै दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । माओवादी केन्द्र लगायत १६ वटा पार्टी एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले प्रत्यक्षतर्फ सात जना उम्मेदवार सिफारिस गरिसकेको छ भने, अन्यले अझै टुङ्गो लगाएको छैन ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले केन्द्रीय सदस्य विशाल भट्टराईको उपस्थितिमा उम्मेदवार छनोटका लागि छलफल सुरु गरेको छ भने, नेपाली काँग्रेस खोटाङको बैठक नै बसेको छैन । काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई अनुसाशनको कारबाहीमा पर्नुभएपछि बैठक बस्न नसकेको समाचार स्रोतले जनाएको छ ।

जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय परिवर्तन पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले उम्मेदवार सिफारिस गरिसकेका छन् । राप्रपाले गुणराज राजभण्डारी, सर्जु श्रेष्ठ र कृष्णकुमारी राई, रापपाले मिरेश राई र जसपाले राकेश राई र प्रकाश चाम्लिङको नाम सिफारिस गरेको हो ।

तपाईको प्रतिक्रिया