पर्यटन प्रवद्र्धमा साकेलाको जोड, श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ

Halesi Khabar

खोटाङ, २० पुस । साकेला गाउँपालिका–२ रतन्छामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ । गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तरगत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागितामा सरसफाइ गरिएको हो ।

सरसफाइका क्रममा गुफासम्म पुग्ने पैदलमार्ग, गुफा परिक्रमा गर्ने बाटो, गुफाभित्र जम्मा भएका फोहर तथा गुफामाथि पलाएका झारपात र बोटबिरुवाहरू पूर्ण रूपमा हटाइएका छन् । सरसफाइपछि धन्नेश्वरी गुफाको स्वरूप नै परिवर्तन भएको रतन्छाका स्थानीयवासीले बताएका छन् ।

लामो समयदेखि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको यस गुफाको धार्मिक तथा पर्यटकीय विकासका लागि वर्तमान जनप्रतिनिधि र साकेला गाउँपालिकाले चासो देखाउँदै विकासको काम प्रारम्भ गरेको छ । आगामी दिनमा गुफासम्म पुग्ने व्यवस्थित पैदलमार्ग निर्माण, गुफा वरिपरि आकर्षक संरचना निर्माण, गुफाभित्र उज्यालोका लागि बत्ती जडान तथा भित्री भागसम्म पुग्न सिँढी निर्माण गर्ने कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

रतन्छाका स्थानीय जानकारहरूका अनुसार धन्नेश्वरी गुफाको सुरुङ दायाँ–बायाँ करिब दश हजार मिटरभन्दा बढी फैलिएको हुन सक्ने अनुमान गरिएको छ । गुफाभित्र रहेका ठूला–ठूला नागका आकृति एवम् विभिन्न देवी–देवताका आकृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ ।

गुफाभित्र करिब दुई हजार मिटर भित्र पुग्दा सुन्दर कुवा, सुन्तलाको बोटलगायतका प्राकृतिक वस्तुहरू देख्न सकिन्छ । सदियौँ पुरानो यस गुफामा साक्षात् भगवान शिवको वास रहेको जनविश्वास छ ।

परापूर्वकालमा भगवान शिवजी राक्षसबाट बच्न धन्नेश्वरी गुफामा लुकेर बसेको र पछि त्रिधार्मिकस्थल हलेसी गएर बसोबास गरेको भन्ने किम्बदन्ती छ । त्रिधार्मिकस्थल हलेसी पत्ता लाग्नुअघि नै भगवान शिवजी बसेको स्थान धन्नेश्वरी गुफा भएको स्थानीय पूर्खाहरुको दाबी छ ।

रामनवमी, बालाचतुर्दशी, तीज तथा एकादशीजस्ता महत्वपूर्ण पर्वहरूमा यहाँ मेला लाग्ने गर्दछ । गुफाको संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय तथा गाउँपालिकाको आर्थिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

गाउँपालिका प्रमुख रविप्रकाशले धार्मिक तथा पर्यटकीयस्थलहरुको विकासका लागि गाउँपालिका दीर्घकालीन योजनाका साथ लागिपरेको जानकारी दिनुहँदै धन्नेश्वरी गुफालाई व्यवस्थित धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “हामी निर्वाचित भएर आएपछि जनजीविकाको कामसँगै गाउँपालिकाभित्रका सबै धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति गरिरहेका छौँ । हाम्रो पालिका आफैमा पर्यटकीयस्थल हो”, उहाँले भन्नुभयो, “यहाँ रहेका पर्यटकीय गन्तव्यहरुको स्तरोन्नति गर्दै पर्यटन प्रवद्र्धनको काम गरिरहेका छौँ । यसले स्थानीयका लागि रोजगारी सिर्जना गर्नुका साथै गाउँपालिकाको आन्तरिक स्रोतमा समेत सघाउ पुग्नेछ ।”

धन्नेश्वरी गुफाको सौन्दर्यकरणका लागि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारबाट रु दश लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । सामान्य पूर्वाधार र प्रारम्भिक सौन्दर्यकरणका लागि यो बजेट सहयोगी भए पनि गुफाको समग्र विकासका लागि दीर्घकालीन योजना बनाएर ठूलो लगानी आवश्यक रहेको रतन्छाका सरोकारवाला निकायले बताउँदै आएका छन् ।

जिल्लाको सबैभन्दा सानो (पाँचवटा मात्र वडा रहेको) यो गाउँपालिकाको वडा नं. २ रतन्छामा साकेला पार्क (उद्यान) र वडा नं. ३ खिदिमामा शहीद पार्क निर्माण गरिसकिएको छ भने, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सीमानामा पर्ने साप्सुखोलामा स्काई वाकसहितको पार्क निर्माणाधीन छ । गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटकीय क्षेत्रहरुको स्तरोन्नति तथा प्रवद्र्धनको कामलाई तीव्रता दिइएको उपप्रमुख बिर्सिकाले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले आफ्नै गाउँठाउँमा पाइने पात्ले, ढाल्ने र सालको काठबाट होर्डिङ बोर्ड बनाएको छ भने, टोलटोलसम्म पुग्ने बाटो र ठाउँको नाम अङ्कित दिशा निर्देशक चिन्ह (डाईरेक्सन एरो)समेत देखाएको छ । गाउँपालिकाले सीमा क्षेत्रका आठवटा स्थानमा स्वागत र बिदाई बोर्ड राखेको छ भने, पालिकाभित्रका हरेक टोल तथा बस्तीसम्म छिर्ने दोबाटोहरुमा डाईरेक्सन बोर्ड राखेको छ ।

डाईरेक्सन बोर्डको सहायताले पहिलो पटक साकेला गाउँपालिका पुग्ने जो कोहीले सजिलैसँग एक्लै गाउँपालिकाको सबै वडा घुम्न सक्नेछन् । गाउँपालिकाद्वारा राखिएका होर्डिङ बोर्ड र चिन्हहरुलाई कलात्मक रुपमा प्रस्तुत गरेको देख्दा लाग्छ हामी सँस्कार र सभ्यताले सुसज्जित पालिका प्रवेश गर्दैछौँ…।

तपाईको प्रतिक्रिया