निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरुले तत्काल राजीनामा दिनुपर्छः योगेश भट्टराई

Halesi Khabar

१८ पुस, । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले चुनावमा उम्मेदवार बन्ने वर्तमान मन्त्रीहरूले तत्काल पद छाड्नुपर्ने बताउनुभएको छ । विराटनगरमा पत्रकारसँग कुरा गर्दे भट्टराईले सरकारमा बसेर उम्मेदवार हुन नपाइने बताउनुभएको हो ।

उहाँले यो सरकार निर्वाचन गराउने म्याण्डेट बोकेर बनेकाले सरकारमा बसेर उम्मेदवार हुन नपाइने बताउनुभएको हो । उहाँले यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेटमा यसअघि नै यसबारे कुरा उठाएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘जो मन्त्रीहरू निर्वाचनमा उठ्दै हुनुहुन्छ, उहाँहरूले मनोनयन दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्छ । मन्त्री पदमा बसेर चुनाव लड्दा निर्वाचनको निष्पक्षता सुनिश्चित हुन सक्दैन ।’

उहाँले महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ म्यान्डेट दिएको बताउनुभएको छ । उहाँले सोही म्याण्डेट अनुसार पार्टी एकताबद्ध भएर अघि बढ्ने बताउनुभएको हो । उहाँले महाधिवेशनमा आफूहरूले उठाएका एजेन्डा अझै जीवितै रहेको र त्यसबारे पार्टीभित्र छलफल भइरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अध्यक्षले सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । हिजोका दिनमा प्रतिस्पर्धीलाई कारबाही गर्ने इतिहास भए पनि अब त्यस्तो सम्भावना छैन । हामी आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउन सामूहिक रूपमा लाग्नेछौँ ।’

भट्टराईले आगामी फागुन २१ गते निर्वाचन हुने बताउनुभएको छ । निर्वाचनको मिति तय भइसकेकाले निर्वाचन कुनै पनि बहानामा रोकिन नहुने भट्टराईले बताउनुभएको हो ।

तपाईको प्रतिक्रिया