–मिनाक्क्षी राई
खोटाङ, १७ पुस । तथ्याङ्क समन्वय कार्यालय खोटाङले २५ वर्षभन्दा बढी सेवा गर्ने तीन जना कर्मचारीलाई सम्मान गरेको छ । तथ्याङ्क दिवसको अवसर पारेर कार्यालयले दिक्तेलमा आयोजना गरेको कार्यक्रममा तथ्याङ्क अधिकृतहरु बिमलकुमार यादव र सन्तोष कोईराला तथा कार्यालय सहयोगी लक्ष्मीप्रसाद मोक्तानलाई सम्मान गरेको हो ।
सम्मानित कर्मचारीहरुलाई सम्मानपत्रको साथमा दोसल्ला ओढाएर गरिएको सम्मान गरिएको तथ्याङ्क समन्वय अधिकारी तथा कार्यालय प्रमुख विकास मल्लले जानकारी दिनुभएको छ । सम्मानित कर्मचारीहरुलाई जनताको सेवामा थप दत्तचित्त भएर अगाडि बढ्न हौसला प्रदान गर्नका लागि सम्मान गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा गरिएको उक्त कार्यक्रममा तथ्याङ्क अधिकृत विमलकुमार यादवले तीन जिल्लाका तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । यादवले प्रस्तुत गर्नुभएको तथ्याङ्कअनुसार खोटाङ जिल्लामा जनसङ्ख्या १.५६ प्रतिशतले घट्दै गएको देखाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले तथ्याङ्क सङ्कलन विधि विश्वसनीय, पारदर्शी र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभएको छ । विदेशमा बसोबास गर्ने नेपालीहरूको समेत यथार्थ तथ्याङ्क सङ्कलन हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले सत्य÷तथ्याङ्क बिना राज्यले बजेट विनियोजन तथा विकास योजना निर्माण गर्न नसक्ने उल्लेख गर्नुभएको छ ।
जिल्लामा पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी कोपिला राई, जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्र, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रमले तथ्याङ्कको महत्व, विश्वसनीय तथ्याङ्क सङ्कलनको आवश्यकता र विकास योजनामा तथ्याङ्कको भूमिकाबारे सरोकारवालालाई थप सचेत गराउने अपेक्षा गरिएको कार्यलयले जनाएको छ ।
तथ्याङ्क समन्वय कार्यालय खोटाङले खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा र भोजपुर जिल्लाको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन गर्दै आएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा वि.सं. २०७४ सालदेखि मनाउँदै आएको सातौँ तथ्याङ्क दिवस खोटाङ जिल्लामा भने पहिलो पटक मनाइएको हो ।


