समानुपातिक सूचीका ‘भान्जा’ र ‘ससुरा’ मेरा होइनन्‌‚ भ्रम फैलाइयो : कुलमान

Halesi Khabar

१६ पुस, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक सूचीका बारेमा आफूविरुद्ध भ्रम फैलाइएको बताउनुभएको छ ।

अन्तरिम सरकारका मन्त्रीसमेत रहनुभएका घिसिङले बुधबार सामाजिक संजालमा लेख्दै प्रतिनिधि सभा निर्वाचनका लागि बुझाइएको समानुपातिक तर्फका उम्मेदवारको सूचीमा आफ्ना भान्जा र ससुरा भनि प्रचार गरिएको विषयमा उहाँले आपत्ति जनाउनुभएको हो ।

‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन् ।’ उहाँले लेख्नुभएको छ्, ‘त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु ।’

समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको उहाँको दाबी छ ।

‘म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु । त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन् । उहाँले लेख्नुभएको छ , ‘राजनीतिमा असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ ।’

उहाँले बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया