खोटाङ, १५ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सर्वाधिक राशीको आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बुइपा–११ स्पोर्टस् क्लब बुइपा खोटाङको आयोजना तथा बुइपाका स्थानीयवासी प्रभुराम राई परिवारको प्रायोजनमा आगामी माघ–७ गतेदेखि ११ गतेसम्म ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।
बुइपास्थित यलम्बर रङ्गशालामा सञ्चलन हुने आमन्त्रित पुरुष फुटबल प्रतियोगिताका विजेतालाई नगद रु तीन लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले मङ्गलबार दिक्तेलस्थित होटल शुभदिनमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । जिल्लाभित्रका छ तथा बाहिरी जिल्लाका चारवटा फुटबल क्लबका खेलाडी सहभागी हुने प्रतियोगिताका उपविजेताले नगद रु एक लाख ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सेमिफाईनलिष्ट दुईवटा समूहलाई नगद रु ५०÷५० हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । हरेक खेलमा म्यान अफ दि म्याच घोषणा गरिने आमन्त्रित फुटबल प्रतियोगिता अवधिभरका सर्वोउत्कृष्ट खेलाडीलाई नगद रु २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने स्पोर्टस् क्बलका पूर्वसचिव ओमप्रकाश घिमिरेले जानकारी दिनुभएको छ ।
विद्यागत पुरस्कारमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत नगदसहित पुरस्कृत गरिने जनाइएको छ । विद्यागत पुरस्कारको राशी जनही नगद रु १५÷१५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र हुने आयोजकले जनाएको छ ।
वि.स.२०६२ सालमा स्थापना भएको बुइपा–११ स्पोर्टस् क्लबका अध्यक्ष प्रभुराम राईको सम्मानमा परिवारका सदस्यहरुले गर्न लागेको आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा जिल्ला फुटबल सङ्घ संरक्षक बसेको छ । तत्कालीन बुइपा गाउँ पञ्चायतका निर्वाचित प्रधानपञ्च तथा पूर्व बृटिस गोर्खा सैनिकसमेत रहनुभएका प्रभुरामको अतुलनीय योगदानलाई कदर गर्दै उहाँको सम्मानमा परिवारका सदस्यहरुले आमन्त्रित पुरुष फुटबल प्रतियोगिता–२०८२ आयोजना गर्न लागेको हो ।
खेल क्षेत्रको समग्र विकासमा लाग्नुभएका ८२ वर्षीय बुबा प्रभुराम राईको सम्मान गर्दै जिल्लामा राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलो पटक आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको उहाँका जेठा छोरा दिनेश राईले जानकारी दिनुभएको छ । “खेल क्षेत्रको समग्र विकासमा बुबा प्रभुराम राईको ठूलो योगदान छ । उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै पहिलो पटक आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “प्रतियोगिताको सम्पूर्ण आर्थिक बन्दोबस्ती हामी परिवकारका सदस्यहरुले मिलाएका छौँ । यो प्रतियोगिता सम्पन्न गर्न रु १७ लाख तीन हजार लाग्ने अनुमान गरिएको छ ।”
उमेरको हिसाबले ८२ वर्ष पुगिसक्नुभएका प्रभुराम राईले खेलाडी उत्पादन तथा खेलमैदान निर्माणमा पु¥याउनुभएको योगदानको सम्मानमा उहाँका परिवारले प्रतियोगिता गर्नु खेलाडीहरुका लागि अवसरको विषय भएको जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रवबिक्रम राईले बताउनुभएको छ । “प्रभुराम राई पाको उमेरसम्म पनि खेल क्षेत्रको समग्र विकासमा लागिरहनु हाम्रो लागि प्रेरणाको विषय हो । उहाँको सम्मानमा परिवारका सदस्यहरुले सर्वाधिक राशीको आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको छ”, उहाँले भन्नुभयो, “यो प्रतियोगिता हामी सबैको साझा प्रतियोगिता हो । यसलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य छ ।”
फुटबल खेलको विकास गर्दै जिल्लाबाट राष्ट्रियस्तरका व्यवसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले बुइपा–११ स्पोर्टस् क्लब स्थापना गरेदेखि अहिलेसम्म क्लबको अध्यक्ष रहनुभएका प्रभुरामले बुइपाको राजावासमा आफ्नै खेलमैदान निर्माण गर्नुभएको छ । प्रभुरामले नेतृत्व गर्नुभएको बुइपा–११ स्पोर्टस् क्लबमा आवद्ध खेलाडीहरु जिल्ला विजेता हुँदै गत वर्ष कोशी प्रदेश फुटबल सङ्घले सुनसरीको धरानमा आयोजना गरेको प्रदेश लिग फुटबल प्रतियोगिता–२०८१ मा उपविजेता बनेको थियो ।


