खोटाङ, १५ पुस । साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तरगत सोमबार वडा नं. ३ खिदिमास्थित मानेभञ्ज्याङ–पाँचधारे सडकखण्डमा सरसफाइ गरिएको छ । साविक खिदिमा गाविस वडा नं. ६ ढाँडे टोलका २१ जना स्थानीयको सहभागितामा करिब दुई किलोमिटर सडक सरसफाइ गरिएको हो ।
सडकको दायाँ–बायाँ फैलिएका झाडी तथा विभिन्न प्रजातिका बोटबिरुवा र भलबाढीका कारण थुनिएका नालीले सडक साँघुरो बनाएपछि स्थानीयवासी स्वः स्फूर्त जनश्रमदानमा जुटेका छन् । स्थानीय नागरिकले गाउँपालिकाले गरेको जनश्रमदानसम्बन्धी नीतिगत निर्णयलाई व्यवहारमा उतार्दै नियमित रूपमा श्रमदानमार्फत विकास निर्माणका कार्य अघि बढाइरहेका छन् ।
विशेषगरी वडा नं. ३ खिदिमाका नागरिकले ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने मूल उद्देश्यसहित निरन्तर श्रमदान अभियान सञ्चालन गर्दै आएका छन् । जनश्रमदान अभियानलाई अझ प्रभावकारी बनाउन जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहँदै आएको छ ।
खिदिमाको साविकका पुङ्मा, किवा, ढाँडे, बोपुङ, सौरे, लामिडाँडा, हात्तिसुँडे, कोक्रा लगायतका विभिन्न टोलहरूमा जनश्रमदानमार्फत सडक, सार्वजनिक स्थल तथा पाटीपौवा सरसफाइ सम्पन्न भइसकेको छ । अभियान सञ्चालन गर्न बाँकी टोलहरूमा पनि निरन्तर श्रमदान अभियान सञ्चालन गरिने वडाध्यक्ष गोविन्द तामाङले जानकारी दिनुभयो ।
जनप्रतिनिधि र नागरिकबीचको सहकार्यबाट सञ्चालन भइरहेको ‘श्रम साकेला अभियान’ साकेला गाउँपालिकामा विकास, सरसफाइ र सामुदायिक एकताको सशक्त उदाहरणका रूपमा स्थापित हुँदै गएको छ । उता, वडा नं. १ बाँझेच्यानडाँडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको सहभागितामा वडा कार्यालय परिसरमा सरसफाइ गरिनुका साथै सडकको नाली सरसफाइ गरिएको पूर्ण सरसफाइ कार्यक्रम उत्प्रेरक पुष्पा राईले जानकारी दिनुभएको छ ।
जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वडामात्र रहेको) यो गाउँपालिकाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीयवासीले समेत सक्रिय भूमिका निर्वाह गरेका छन् । श्रमदानमा सहभागीले खाना तथा खाजाको व्यवस्थासमेत आफै गर्ने गरेको वडाध्यक्ष तामाङले जानकारी दिनुभएको छ ।
श्रमदान अभियानकै क्रममा खिदिमास्थित बोरा टोल र मखमले टोलका स्थानीयले जनश्रमदानमार्फत काठको साँघु निर्माण गरी आवत–जावतलाई सहज बनाएका छन् । वर्षौंदेखि दैनिक आवागमनमा समस्या उत्पन्न गराउँदै आएको स्थानीय बोरा खोलामा करिब १५ मिटर लामो काठको साँघु निर्माण गरिएको हो ।
विशेषगरी विद्यालय जाने विद्यार्थी, स्वास्थ्य सेवा लिन जाने नागरिक, वडा कार्यालय तथा गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने सेवाग्राहीहरू वर्षायाममा अत्यन्तै जोखिमपूर्ण यात्रामा बाध्य हुँदै आएका थिए । वर्षादको समयमा आउने भलबाढीले खोलाको बहाव तीव्र हुँदा पैदल हिँडडुलसमेत असम्भव जस्तै बन्दै आएको अवस्थामा स्थानीय आफै अग्रसर भएर समस्या समाधानतर्फ उन्मुख भएका हुन् ।
स्थानीयको सक्रिय सहभागिता र आपसी सहकार्यमा सम्पन्न गरिएको उक्त साँघु निर्माण कार्यले समुदायभित्र विकासप्रति बढ्दो चेतना र आत्मनिर्भरता झल्काएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताउनुभएको छ । सीमित स्रोतसाधनका बाबजुद पनि साझा समस्या समाधानका लागि स्थानीयवासी एकतावद्ध भएर श्रमदानमा जुट्नुले ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने भावनालाई व्यवहारमा उतारेको गाउँपालिका प्रमुख राईले जानकारीले दिनुभएको छ ।
वर्षेनी आउने भलबाढीका कारण खोला तर्न नसक्दा यस क्षेत्रका बालबालिका, वृद्धवृद्धा, महिला तथा बिरामी नागरिक सबैभन्दा बढी प्रभावित हुँदै आएका थिए । अब भने काठको साँघु निर्माणसँगै जोखिमपूर्ण यात्रा अन्त्य भइ आवागमन सुरक्षित र सहज हुनेमा स्थानीयले विश्वास व्यक्त गरेका छन् ।
जनश्रमदान, सहकार्य र स्थानीय नेतृत्वको प्रभावकारी समन्वयबाट निर्माण भएको यो साँघुले गाउँपालिकाको समग्र विकास यात्रामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको उपप्रमुख बिर्सिका राईले जानकारी दिनुभएको छ । गाउँपालिकाले सुरु गरेको ‘श्रम साकेला अभियान’को नीतिगत निर्णयले गाउँपालिकामा सामुदायिक विकासको सशक्त उदाहरण स्थापित हुँदै गएको छ ।


