खोटाङ, १४ पुस । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा सञ्चालित स्वास्थ्यचौकीले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । तत्कालीन गाउँ विकास समिति (गाविस)को पूरानो कार्यालय भवनमा सञ्चालित स्वास्थ्यचौकीले सोमबारबाट औपचारिक रुपमा आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको हो ।
उपभोक्ता समितिमार्फत निर्माण गरिएको स्वास्थ्यचौकीको दुईतले पक्की भवनको भूइँतलामा पाँच तथा माथिल्ला तलामा चार कोठा रहेको जनाइएको छ । आर्थिक वर्ष २०८१ मा रु ७२ लाख बजेटमा ठेक्कामार्फत निर्माण सुरु गरिएको स्वास्थ्यचौकी भवनको काम सम्पन्न नभएपछि आर्थिक वर्ष २०८२ मा नगरपालिकाले रु ३५ लाख ३४३ बजेट विनियोजन गरेर उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिएको थियो ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयसँगको साझेदारीमा रु एक करोड सात लाख ३४३ लागतमा निर्माण गरिएको स्वास्थ्यचौकी भवन सोमबार नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । स्वास्थ्यचौकी भवन उद्घाटन कार्यक्रममा निःशुल्क चार रोपनी जग्गा उपलब्ध गराउनुहुने शिवराज राई, एक रोपनी उपलब्ध गराउनुहुने स्व. रणशेर राईका जेठा छोरा डिल्ली राई र लामो समय महिला स्वास्थ्य स्वयम्सेविकाको भूमिका निर्वाह गर्नुभएकी इमानसरी राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
विविध कार्यक्रमसहित आयोजना गरिएको स्वास्थ्यचौकी भवन उद्घाटन कार्यक्रममा धितुङका वडाध्यक्ष टेकराज राई, छिमेकी वडाका वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो । साँघुरो तथा जीर्ण अवस्थाको गाविस भवनमा सञ्चालित स्वास्थ्यचौकी आफ्नै सुविधा सम्पन्न पक्की भवनमा सारिएसँगै सेवा प्रवाहमा समेत सहज भएको स्वास्थ्यचौकी प्रमुख रोहित राईले जानकारी दिनुभएको छ ।
एघार वडा रहेको यो हलेसी तुवाचुङ नगरपालिकामा वडा नं. १० अर्खौले बाहेक सबै स्वास्थ्यचौमा पक्की भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकिएको नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । अर्खौले स्वास्थ्यचौकीका लागि समेत चाँडै नयाँ पक्की भवन निर्माण गर्न पहल थालिएको नगरपालिकाले जनाएको छ ।
जिल्लाको दोस्रो ठूलो (पन्ध्र वडा रहेको) स्थानीय तह यो हलेसी तुवाचुङ नगरपालिकाका सबै वडामा वर्थिङ सेन्टर सञ्चालन गरिएको छ । मातृशिशुको मृत्युदर घटाउँदै स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले टोलटोलमा स्वास्थ्यकर्मी खटाएर गर्भवतीको स्वास्थ्य परीक्षणसमेत गर्ने गरिएको प्रवक्ता गिरीले जानकारी दिनुभएको छ ।
त्रिधार्मिकस्थल हलेसीसमेत रहेको यो हलेसी तुवाचुङ नगरपालिकामा तीन शय्याको नगर अस्पतालसमेत सञ्चालनमा छ । विशेषज्ञ चिकित्सकसहितको सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध रहेको नगर अस्पतालमा स्वास्थ्य बीमाको कार्यक्रमसमेत लागू गरिएको प्रवक्ता गिरीले जानकारी दिनुभएको छ ।
पूरानो स्वास्थ्यचौकीको भवनमा सञ्चालित नगर अस्पतालका लागि सङ्घीय सरकारको लगानीमा १५ शय्याको सुविधा सम्पन्न अस्पताल भवनसमेत निर्माणको काम भइरहेको छ । निर्माणाधीन अवस्थाको अस्पताल सञ्चालनमा आएपछि हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने धर्मावलम्बी तथा पर्यटकलाई समेत सहज हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।


