खोटाङ सेवा समाज काठमाडौँको अध्यक्षमा नायक नवल खड्का

Halesi Khabar

खोटाङ, १४ पुस । खोटाङ सेवा समाज काठमाडौँ नेपालको अध्यक्षमा नायक÷निर्देशक नवल खड्का सर्वसम्मत चयन हुनुभएको छ । खोटेहाङ गाउँपालिका–८ सिम्पानी स्थायी घर भइ राजधानी काठमाडौँ बसेर नेपाली चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धनका काम गर्दै आउनुभएका नेपाली चलचित्रका नायक÷निर्देशक खड्का समाजको ११ औँ अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

नेपाल चलचित्र कलाकार सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका नायक÷निर्देशक खड्काको अध्यक्षतामा चयन भएको समितिमा जिल्लाका दशवटै स्थानीय तहका प्रतिनिधि रहनुभएको छ । खोटेहाङ गाउँपालिकाबाट नवनिर्वाचित अध्यक्ष खड्का र ज्ञानमाया परियार, केपिलासगढी गाउँपालिकाबाट विषा गुरुङ र मातृका निरौला, दिप्रुङ चुइचुमा गाउँपालिकाबाट गणेश थापा र नवराज रोका, रावाबेँसी गाउँपालिकाबाट जगतप्रसाद घिमिरे र मिसन राई चयन हुनुभएको छ ।

यस्तै, दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाबाट कर्ण कटवाल, राजु एन्ड राई र दुर्गा पोखरेल, बराहपोखरी गाउँपालिकाबाट लोकबहादुर खत्री र प्रकाश लुइँटेल, जन्तेढुङ्गा गाउँपालिकाबाट कल्पना राई र गणेश बिष्ट, साकेला गाउँपालिकाबाट सन्तोष राई, ऐसेलुखर्क गाउँपालिकाबाट गुणराज राजभण्डारी र रामकुमार पुरी तथा हलेसी तुवाचुङ नगरपालिकाबाट प्रकाश पुरी, कोपिला राई र दयाराम राई चयन हुनुभएको छ । समाजको पहिलो बैठकबाट समितिको पदाधिकारी चयन गर्नेगरी सम्पन्न भएको महाधिवेशनले २१ सदस्यीय समिति चयन गरेको हो ।

समाजको ११ औँ महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएपछि नायक तथा निर्देशक खड्काले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “म प्रति व्यक्त गरिएको आशा, विश्वास र भरोसालाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्दछु । अग्रजहरूको आशिर्वाद, युवाको ऊर्जा र सबैको सहकार्यमा नवनिर्वाचित कार्यसमितिले खोटाङ सेवा समाजलाई अझ सशक्त, एकताबद्ध र गतिशील बनाउँदै अघि बढ्नेछ”, उहाँले थप्नुभएको छ, “जहाँ खोटाङेली, त्यहीँ खोटाङ सेवा समाज” भन्ने भावनाका साथ सुख–दुःखमा सधैँ साथ रहने प्रण गर्दै, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्नु हुने सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।”

करिब तीन दर्जन नेपाली कथानक चलचित्रमा अभिनय गरिसक्नुभएका समाजका नवनिर्वाचित अध्यक्ष नायक तथा निर्देशक खड्काले आफ्नै लगानीमा ‘दशगजा’, ‘भिदत्त’, ‘आवाज’, ‘मायाँ बसेछ’, ‘क्रान्ति’ र ‘काँडेतार’ प्रदर्शनमा ल्याइसक्नुभएको छ । समाजका नवनिर्वाचित अध्यक्ष नायक तथा निर्देशक खड्काले निर्माण गर्नुभएको नेपाली कथानक चलचित्रहरु राष्ट्रभक्तिभावले ओतप्रोत रहेको दर्शकहरुले बताएका छन् ।

‘खोटाङेहरुको एउटै चाहना, सभ्य समाज र एकताको कामना’ भन्ने नाराका साथ वि.सं. २०४४ सालमा स्थापना भएको समाजले जिल्लाको सामाजिक हितका साथै समग्र विकास÷निर्माणको क्षेत्रमा समेत काममा सहयोग गर्दै आएको छ । काठमाडौँको शुभम् पार्टी प्यालेसमा गएराति सम्पन्न महाधिवेशनको उद्घाटन कार्यक्रममा खोटाङमा जन्मिएर विभिन्न क्षेत्रमा रहेर जिल्ला तथा देशका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको आयोजकले जनाएको छ ।

समाजका संस्थापक अध्यक्ष बाघधन राईले पुस–१२ गते उद्घाटन गर्नुभएको समाजको महाधिवेशनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वप्रतिनिधिसभा सदस्य सरस्वती बजीमय, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय एवम् पूर्व प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, खोटाङ घर भइ राजधानी काठमाडौँमा बसेर विभिन्न क्षेत्रमा काम गर्दै आएका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो । काठमाडौँ बस्दै आएका खोटाङ्गे अगुवाहरुले विभिन्न समयमा खोटाङ सेवा समाज र खोटाङ महासमाज छुट्टाछुट्टै दर्ता गरेर दुईवटा संस्था सञ्चालन गर्दै आएकामा वि.सं. २०७७ सालमा एकीकरण गरेर साझा संस्थाको रुपमा खोटाङ सेवा समाज गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया