चुनावमा उम्मेदवारी नदिने पम्फा भुसालको घोषणा

Halesi Khabar

१३ पुष । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पम्फा भुसालले आफू प्रत्यक्ष र समानुपातिक उम्मेदवार नबन्ने बताउनुभएको छ । ‘अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ,’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ ।

अरु नेता पनि नदोहरिनु उचित हुने भन्दै उहाँले लेख्नुभएको छ, ’राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।’

सरकारले आगामी फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचनमा आफूलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट प्रस्ताव आए पनि त्यसलाई स्वीकार नगरेको उहाँको भनाइ छ । ‘तत्कालीन माओवादीको तर्फबाट दुईपटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार हुँ । त्यसमाथि पनि काठमाडौं उपत्यकाजस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलामको चिउरा चपाउनुजस्तै हो,’ उहाँले भन्नुभएको छ ।

भुसाल दुईपटक प्रत्यक्षतर्फ निर्वाचित सांसद हुनुहुन्छ भने उहाँले पटकपटक मन्त्री भएर काम गर्ने अवसर पाइसक्नुभएको छ ।
उहाँले यसपटक पार्टीले उठाएका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने पनि बताउनुभएको छ । ’अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ,’ भुसालको भनाइ छ ।

भुसाल पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ललितपुर–३ बाट र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट सांसद बन्नुभएको थियो । २०६४ मा उहाँ महिला, बालबालिका तथा समाजकल्याणमन्त्री, ०६५ मा सामान्य प्रशासन, ०६८ मा शान्तिमन्त्री र ०७८ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्नुभएको थियो ।

तपाईको प्रतिक्रिया