हलेसी तुवाचुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता सन्देशसभा

Halesi Khabar

खोटाङ, १२ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगरपालिका कार्यसमितिले आज (शनिबार) एकता सन्देशसभा गरेको छ । केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहित १६ वटा राजनीतिक दलबीच एकता भएपछि नगरपालिका कार्यसमितिले पनि एकता सन्देशसभा गरेको हो ।

त्रिधार्मिकस्थल हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्यहरु समिता कार्की ‘अस्मिता’, राजन राई, कुलप्रसाद फुयाँल, अमेम्बर राई र तेजमाया राई, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’ लगायतले सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा नेताहरुले देशको आवश्यकता र जनभावनाअनुसार विभिन्न १६ वटा कम्युनिष्ट विचारधारा पार्टीहरुबीच एकता गरिएको बताएका छन् ।

एकता सन्देशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेर ठूलो सङ्ख्यामा नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेको जिल्ला संयोजक दिपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभएको छ । पार्टी प्रवेश गर्ने एमाले नेता तथा कार्यकर्तालाई प्रमुख अतिथि अस्मिता लगायतले अबिर लगाएर स्वागत गर्नुभएको छ ।

सन्देशसभामा सहभागी हुने भेला भएका नेकपाका नेता तथा कार्यकर्ताले हलेसी बजारमा नारा÷जुलुससहित शक्ति प्रदर्शन गरेको थियो । पार्टी एकता सन्देशसभामा सहभागी हलेसी क्षेत्रका नेता तथा कार्यकर्ताहरु केन्द्रमा भएको विभिन्न १६ पार्टीबीचको एकताले उत्साहित बनेको देखिएका थिए ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा सन्देशसभा गर्ने निर्णय गरेको छ । स्थानीय तहमा गरिने सन्देशसभाको मिति, स्थान र समय सम्बन्धित स्थानीय तहका समितिले तय गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया