जन्तेढुङ्गा गाउँपालिकामा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट

Halesi Khabar

खोटाङ, ११ पुस । जन्तेढुङ्गा गाउँपालिकाले ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण कार्यक्रम सुरु गरेको छ । देशभर जाडो बढेसँगै आफ्नो गाउँपालिकाभित्रका जेष्ठ नागरिकलाई चिसोका कारण लाग्ने विभिन्न प्रकारका रोगबाट बचाउन गाउँपालिकाले न्यानो ज्याकेट वितरण कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिकाभित्रका ५१५ जना जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण गर्ने कार्यक्रम अनुसार पाँचौ राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर शुक्रबार आयोजना गरिएको कार्यक्रममा २९ जना जेष्ठ नागरिकलाई वितरण गरिएको छ । ‘हाम्रो साझा अभियान, जेष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने मुल नाराका साथ गाउँपालिकाको कार्यालय चिसापानी बजारमा आयोजना गरिएको कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरु गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको न्यानो ज्याकेट पाएपछि हर्षित भएका छन् ।

गाउँपालिकाभित्र रहनुभएका बाँकी ४८६ जना जेष्ठ नागरिकलाई भने केही दिनपछि उनीहरुको वडा–वडामा गएर न्यानो ज्याकेट वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले जानकारी दिनुभएको छ । देशभर एकसाथ बढेको जाडोबाट आफ्नो गाउँपालिकाभित्रका जेष्ठ नागरिकलाई जोगाउनका लागि राहत स्वरुप न्यानो ज्याकेट वतरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको प्राङ्गणमा आयोजना गरिएको ज्याकेट विरण कार्यक्रममा उपप्रमुख खेमबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाई लगायतको उपस्थिति रहेको थियो । छ वडा रहेको उक्त गाउँपालिकामा जेष्ठ नागरिक सम्मान, स्वास्थ्य उपचार तथा न्यानो कपडा वितरणका लागि चालु आर्थिक वर्षमा रु छ लाख बजेट विनियोजन गरिएको सूचना अधिकारी विनय निरौलाले जानकारी दिनुभएको छ ।

यता, जेष्ठ नागरिक सङ्घ जिल्ला कार्यसमिति खोटाङले पनि दिक्तेल बजारमा विविध कार्यक्रमका साथ पाँचाँै राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ । दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न सन्देशमूलक नारासहित निकालिएको प्रभातफेरीले दिक्तेल बजार परिक्रमा गरेको थियो ।

दिक्तेलस्थित किरातचोकबाट सुरु गरिएको प्रभातफेरीमा ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौँ’, ‘वृद्धवृद्धालाई माया गरौँ’, ‘पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाऔँ, समाजमा केही गरौँ’ जस्ता सन्देशमूलक प्लेकार्ड प्रदर्शन गरिएको थियो । जेष्ठ नागरिक समाजका अमूल्य अभिभावक र मार्गदर्शक भएकाले उनीहरुको योगदानलाई सबैले सम्मान गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभएको छ ।

दश स्थानीय तह रहेको खोटाङका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा विविध कार्यक्रम गर्दै पाँचौँ राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएका छन् । आ–आफ्नो पालिकाभित्रका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण, सम्मान तथा स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम गर्दै स्थानीय तहहरुले दिवस मनाएका हुन् ।

नेपाल सरकारले प्रत्येक वर्ष पुस–११ गतेका दिनलाई राष्ट्रिय जेष्ठ नागरिक दिवसका रुपमा मनाउँदै आएको छ । नेपाल सरकारले वि.सं. २०५१ पुस–११ गतेका दिन जेष्ठ नागरिकलाई मासिक रु १०० का दरले भत्ता दिन आरम्भ गरेको दिनको स्मरणमा राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया