छोराछोरीलाई जागिरे बनाएपछि आफू पढेर ‘डिग्री होल्डर’ बन्नुभयो ७० वर्षीय ईन्द्रबहादुर

Halesi Khabar

खोटाङ, ११ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित मुडेका ७० वर्षीय ईन्द्रबहादुर थापाका तीन छोरा र तीन छोरी छन् । करिब ७० वर्षअघि वि.सं. २०१३ सालमा बुबा रत्नबहादुर तथा आमा लिलादेवी थापाको कोखबाट पाँचौँ सन्तान (अन्तरे)का रुपमा जन्मनुभएका ईन्द्रबहादुरले वि.सं. २०३२ सालमा प्रवेशिका परीक्षा (एसएलसी) द्धितीय श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो ।

एसएलसी उत्तीर्ण गरेपछि सरकारी जागिरसँगै घर व्यवहार, छोराछोरीको शिक्षादिक्षाका लागि समय बिताउनुभएका ईन्द्रबहादुरका जेठा छोरा मनोज सिभिज ईन्जिनियर (युएनमा कार्यरत), माहिलो विनोज नेपाली सेना तथा कान्छा छोरा प्रनोज थापा अमेरिकामा कम्प्युटर साईन्स् लिएर मास्टर्स डिग्री (स्नातकोत्तर) अध्ययन गर्दै हुनुहुन्छ । जेठी छोरी मनिता कृषि मन्त्रालय अन्तरगत दशौँ तहमा कार्यरत (हाल बिदा लिएर अमेरिकामा पिएचडी अध्ययनरत), माहिली सरिता नेपाल एयर लायन्समा लेखा अधिकृत र कान्छी छोरी विनिता थापा रामेछामको लिखु तामाकोशी गाउँपालिकास्थित चन्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ ।

एसएलसी उत्तीर्ण गरेको दुई वर्षसम्म घर व्यवहार गर्दै शिक्षक सेवा आयोगको तयारी गर्नुभएका ईन्द्रबहादुर वि.सं. २०३५ सालमा स्थायी शिक्षक नियुक्त हुनुभएको थियो । शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहको परीक्षा उत्तीर्ण गरेर स्थायी शिक्षक नियुक्त हुनुभएका ईन्द्रबहादुर छ महिनापछि जागिर छाडेर सब–ओभरसियरको नौँ महिने तालिममा सहभागी हुन झापा पुग्नुभयो ।

युनिसेफको आर्थिक सहयोगमा सञ्चालित नौँ महिने तालिम पूरा गरेर फर्किएपछि वि.सं. २०३६ सालमा तत्कालीन जिल्ला पञ्चायत कार्यालय खोटाङमा सब–ओभरसियरको अस्थायी जागिरे हुनुभयो । जागिरसँगै घर व्यवहारमा व्यस्त ईन्द्रबहादुरले वि.सं. २०३९ साल वैशाखमा सर्वदादेवी बस्नेतसँग विवाह गर्नुभयो ।

विवाहपछि लगातार तीन छोरा र छोरीका बुबा बन्नुभएका ईन्द्रबहादुरले आफ्नो पढाइलाई निरन्तरता दिनसक्नुभएन । एसएलसी उत्तीर्ण गरेको १३ वर्षपछि बल्ल वि.सं. २०४५ सालमा दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलबाट आ.ई.ए. (प्रमाणपत्र तह) उत्तीर्ण गर्नुभयो । सोही साल नेपालमा भूकम्प गयो ।

भूकम्पपछि जिल्लामा स्थापना भएको भूकम्प पीडित पुनः निर्माण पुनः स्थापना जिल्ला सम्पर्क कार्यालय खोटाङमा सरुवा भएर आठ वर्ष काम गर्नुभयो । जिल्लाबाट पुनःस्थापना कार्यालय खारेज भएपछि पुनः जिल्ला विकास समितिको कार्यालय खोटाङमा फर्कनुभएका अस्थायी जागिरे ईन्द्रबहादुरले सोही क्याम्पसबाट वि.सं. २०५१ सालमा बि.ए. (स्नातक) उत्तीर्ण गर्नुभयो ।

जिविसमा २८ वर्षसम्म सब–ओभरसियर पदमा अस्थायी जागिर गर्नुभएका ईन्द्रबहादुर वि.सं. २०६३ सालमा बल्ल सब–ईन्जिनियर पदमा स्थायी हुनुभयो । स्थायी जागिरे भएको ११ वर्ष नबित्दै उमेर हदका कारण वि.सं. २०७४ सालमा अनिवार्य अवकाश हुनुभएका ईन्द्रबहादुरले त्यसपछि भने आफ्नो अध्ययनलाई पूरा गर्ने अवसर प्राप्त गर्नुभयो ।

छोराछोरीको पढाइ सकाएर जागिरे बनाएसँगै आफूले पनि जागिरबाट अवकाश पाएपछि ईन्द्रबहादुर फेरि वि.सं. २०७६ सालमा दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा स्नातकोत्तर तह अध्ययनका लागि भर्ना हुनुभयो । सामाजिकशास्त्र शङ्कायमा क्याम्पस भर्ना हुनुभएका ईन्द्रबहादुरले वि.सं. २०८१ सालमा स्नातकोत्तर उत्तीर्ण हुनुभएको हो ।

द्धितीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएका ईन्द्रबहादुर वर्ष दिनपछि पुस–१० गते त्रिभूवन विश्वविद्यालयले आयोजना गरेको ५१ औँ दीक्षान्त समारोहमा सहभागी भएर दीक्षित हुनुभयो । “उमेरमा पढ्न पाइएनँ । जसरी पनि मास्टर्स डिग्री पूरा गर्छु भन्ने मेरो सपना थियो । त्यो सपना पूरा गर्नका लागि छोराछोरीको पढाइ सकाएर जागिरे बनाएपछि मात्र सम्भव भयो”, उहाँले भन्नुभयो, “मेरो पनि जागिर सकियो । फुर्सद मिलेपछि नाति÷नातिना उमेर समूहका साथीहरुसँग बसेर परीक्षा दिएँ । सफलता पनि मिल्यो । अहिले उनीहरुसँगै काठमाडौँ आएर दीक्षित भएको छु । पढाइलाई उमेरले छेक्दैन रहेछ । मानव जीवनका लागि शिक्षा सबैभन्दा ठूलो सम्पत्ती हो ।”

ढिलै भएपनि पढेर मास्टर्स डिग्री होल्डर बन्नुभएका ईन्द्रबहादुरले जागिरमा रहेको अवस्थामा वि.सं. २०४६ सालमा राजा विरेन्द्रबीरबिक्रम शाहको हातबाट दैविक पीडित उद्धार पदकसमेत आफूले प्राप्त गरेको जानकारी दिनुभएको छ । वि. सं. २०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरमार्फत छुण्ड्याएर ल्याइएको गाडीमार्फत यातायात सेवा विस्तार गरिएको जिल्लामा सडक निर्माण गर्न सब–ईन्जिनियर ईन्द्रबहादुरको ठूलो योगदान रहेको जिल्लावासीले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया