खोटाङ, १० पुस । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित घोर्लेमा सञ्चालित जनबहुमुखी आधारभूत विद्यालयमा निर्माण गरिएको चारकोठे विद्यालय भवन उद्घाटनसँगै अक्षयकोष स्थापना गरिएको छ । नेपाल सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालयलाई प्राप्त रु १८ लाख तथा वडा कार्यालयबाट विनियोजित रु दुई लाख ५० हजार लागतमा विद्यालय भवन निर्माण गरिएको हो ।
भवन निर्माणका लागि जग्गा सम्याउन गाउँपालिकाले रु तीन लाख बराबर सहयोग गरेको विद्यालयका प्रधानाध्यापक जुनिता राईले जानकारी दिनुभएको छ । विद्यालय भवन निर्माणका लागि स्थानीय जग्गा दाताहरु स्व. मानदत्त राई र बसुनीमाया राईको परिवारले एक रोपनी र स्व. छत्रबहादुर राईको परिवारले दुई रोपनी जग्गाा निःशुल्क उपलब्ध गराउनुभएको विद्यालय प्रशासनले जनाएको छ ।
भवन उद्घाटन कार्यक्रममा विद्यालयको चौतर्फी विकासका लागि स्थानीय शिवप्रसाद राई र ललितकुमारी राईको नाममा उहाँका परिवारले रु एक लाख ११ हजार १११ राशीको अक्षयकोष स्थापना गरिदिएका छन् । छोरा रमेश राई र बुहारी सुनिता थापा (राई)ले अक्षयकोष स्थापना गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ ।
जग्गा दाता र अक्षयकोष स्थापना गर्ने व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका प्रमुख अरुणादेवि राई ‘दिक्षा’ र विशेष अतिथि उपप्रमुख खेमबहादुर खड्काले दोसल्ला ओडाएर सम्मान गर्नुभएको छ । कार्यक्रममा चिसापानी घर भइ हाल बेलायत (युके)मा रहनुभएका विशाल राईको संयोजनामा १५ जना विद्यार्थीका लागि न्यानो कपडा र एक थान कम्पयुटर विद्यालयलाई हस्तारण गरिएको छ ।
दाताहरुले उपलब्ध गराएको न्यानो कपडा विद्यार्थीलाई वितरण गरिएको छ । कार्यक्रममा स्थानीय दिप्सन राईले विद्यालयलाई १५ थान न्यानो टोपी र मोजा तथा प्रकाश राईले छात्रा÷छात्रहरुलाई ४५÷४५ थान डटपेन कपि प्रदान गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका प्रमुख दिक्षाले बालबालिकाको शैक्षिक सुधारका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विशेष अतिथि खड्काले शिक्षाको गुणस्तर सुधारमा अभिवाकसमेत सचेत हुनुपर्ने जोड दिनुभएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाई, चिसापानीका वडाध्यक्ष धनबहादुर राई, शिक्षा शाखा प्रमुख चक्रबहादुर कार्की लगायतले शुभकामना व्यक्त गर्नुभएको छ । कार्यक्रमका अतिथिहरुलाई साकेला नृत्यबाट स्वागत गरिएको थियो ।


