एउटै घरका दाजु–बहिनी फरक–फरक राजनीतिक दलबाट समानुपातिक उम्मेदवार

Halesi Khabar

खोटाङ, १० पुस । नेपाली साँगीतिक जगतका चर्चित गायिका सत्यकला राई र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता खगेन्द्र राई एउटै घरका दाजु–बहिनी हुनुहुन्छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पा स्थायी घर भएका दाजु–बहिनी खगेन्द्र र सत्यकला आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा फरक–फरक राजनीतिक दलबाट समानुपातिक उम्मेदवार बन्नुभएको छ ।

चर्चित गायिका सत्यकला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तथा खगेन्द्र एमालेबाट समानुपातिक उम्मेदवारको रूपमा खोटाङबाट सिफारिस हुनुभएको सम्बन्धित राजनीतिक दलले जानकारी दिएको छ । सयौँ चर्चित नेपाली गीतमा स्वर दिइसक्नुभएकी गायिका सत्यकलालाई रास्वपा खोटाङले समानुपातिक तर्फको प्रारम्भिक उम्मेदवारको सूचीमा १ नम्बरमा समावेश गरेको हो ।

प्रत्यक्षतर्फको उम्मेदवारको नाम भने केही दिनपछि टुङ्ग्याउनेगरी समानुपातिक तर्फको नाममात्र सिफारिस गरिएको रास्वपा खोटाङका जिल्ला सभापति मुकुन्दकृष्ण थापाले जानकारी दिनुभएको छ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पार्टीले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको प्रक्रियासमेत अगाडि बढाएको रास्वपाले जनाएको छ ।

दर्जनौँ लोकप्रिय गीत गाइसक्नुभएकी सत्यकला नाट्य तथा सँगीत प्रतिष्ठानको प्राज्ञको रूपमा समेत काम गरिसक्नुभएको छ । खोटेहाङ गाउँपालिका–८ सिम्पानी स्थायी घर भएका नेपाली चलचित्रका अभिनेता तथा निर्देशक नवल खड्कासँग विवाह गर्नुभएकी गायिक सत्यकला प्राध्यापन पेशामा समेत आवद्ध हुनुहुन्छ ।

यसअघिसम्म कुनै पनि राजनीतिक दलमा नखुल्नुभएकी गायिका सत्यकलालाई रास्वपाले समानुपातिक उम्मेदवारको सूचीमा राखेपछि चुनावी अभियानमा सक्रिय भएर जुट्नुभएको छ । गायिका सत्यकलाको श्रीमान खड्का वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङको तर्फबाट समानुपातिक उम्मेदवार बन्नुभएको थियो ।

समानुपातिक उम्मेदवारकै सूचीमा रहनुभएका गायिक सत्यकलाका सहोदर दाजु खगेन्द्र करिब ४० वर्षदेखि एमालेको सक्रिय राजनीतिमा हुनुहुन्छ । एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका समानुपातिक उम्मेदवार खगेन्द्र भर्खरै सम्पन्न एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा भने, पराजित हुनुभएको छ ।

एउटै घरका दाजु–बहिनी फरक–फरक राजनीतिक दलबाट आगामी निर्वाचनमा समानुपातिक उम्मेदवारका रुपमा सिफारिस हुनुभएपछि आफन्त तथा शुभचिन्तकले शुभकामना दिइरहेका छन् । एमाले खोटाङबाट खगेन्द्रसँगै उषाकला राई र कर्ण घलेलाई समेत समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको जिल्ला अध्यक्ष देवबिक्रम राईले जानकारी दिनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा अन्य राजनीतिक दलले अहिलेसम्म उम्मेदवार टुङ्गो लगाएका छैनन् । सरकारले तोकेको प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरु सक्रिय हुन थालेका छन् ।

वि.सं. २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हाल नेपाली कम्युनिष्ट पार्टीका नेता रामकुमार राई ‘पासाङ’ विजयी हुनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता विशाल भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पछाडि पार्दै पासाङ प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।

आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खोटाङबाट कसले बाजी मार्छ भन्न सकिने अवस्था छैन । नेपाली काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को उत्तिकै प्रभाव रहेको खोटाङमा श्रम संस्कृति पार्टीको पनि सक्रियता बढेको छ ।

तपाईको प्रतिक्रिया